के नेप्सेले माइक्रो इन्स्योरेन्सका लागि नयाँ ‘सब-इण्डेक्स’ थप्दैछ ?

अर्थबिट २०८१-१०-२३ १२:०१:०० बजे

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लि. माइक्रो इन्स्योरेन्स बीमक कम्पनी हो । नेपाल बीमा प्राधिकरणका अनुसार कुल ३७ बीमक कम्पनीहरुमध्ये हाल ७ वटा माइक्रो इन्स्योरेन्स छन् । जसमध्ये एक गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लि.पनि हो । 

यता नेपाल स्टक एक्सचेञ्जमा कुल १३ वटा उपसमूहका सूचक छन् । बीमक कम्पनीहरुको लाइफ इन्स्योरेन्स र ननलाइफ इन्स्योरेन्स गरी कुल २ वटा उपसूचक( सब-इण्डेक्स)  समावेश छन् । 

यता गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लि.ले सूचीकरण गरी दोस्रो बजारमा कारोबार गर्नका लागि यही साता आवेदन गरिसकेको छ । केही समयअघि प्राथमिक शेयर निष्काशन गरेको उक्त कम्पनीको बाँडफाँटबाट शेयरधनीहरुको डिम्याट खातामा पनि आइसकेको छ । 

अब केही दिनमै माइक्रो इन्स्योरेन्स सेक्टरको पहिलो पटक शेयर दोस्रो बजारमा समेत खरिदबिक्री हुनेछ । नेप्सेले थप ‘सब-इण्डेक्स’ थप्ला वा यसअघिकै ‘सब-इण्डेक्स’मा समावेश गर्ला भन्ने जिज्ञासा रहेको छ । 

एक्सचेञ्जका अधिकारीहरुका अनुसार गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनी लि.लाई लाइफ इन्स्योरेन्स उपसूचकमै समावेश गरिने बताएका छन् । सूचकमा आधारित शेयर कारोबार हालसम्म नभएकाले पनि यसमा अर्को थप नयाँ उपसूचक नथपिने ती अधिकारीले प्रष्ट्याए । यदि भविष्यमा ‘इण्डेक्स’कै आधारमा कारोबार भएको खण्डमा भने नयाँ ‘इण्डेक्स’ थपिन ती अधिकारीको भनाइ छ । 

यो पनि पढ्नुस् :  यसै सातादेखि गार्डियन माइक्रोको शेयर कारोबार हुँदै

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।