धरान।सुनसरीको धरानमा एक सहकारी माफिया,जसलाई राज्यले नै बलियो संरक्षण गरेको छ ।
सुनसरीको धरानमा अवस्थित बराह बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष मान बहादुर विश्वकर्मा तिनै माफिया हुन् जसलाई राज्यको स्थानीय निकायदेखि संघीय राज्यले समेत बलियो संरक्षण गरेको हो ।
बराह सहकारीका अध्यक्ष मान बहादुर विश्वकर्माले अवैध तथा गैरकानूनी ढंगले सोझासीधा सर्वसाधारणबाट उठेको अरबौँ रकम आफ्नै निजी कम्पनी,छोरा,नातेदार,कर्मचारीलगायतलाई मनोमानी गर्दैै अपचलन गरेका हुन् ।
अर्थबिटलाई प्राप्त कागजात अनुसार अध्यक्ष विश्वकर्माले करिब ३० जनालाई २५ लाखदेखि १ करोड रुपैयाँसम्म बिना धितो कर्जा प्रवाह गरेका हुन् । बराह ग्रूप अफ इण्डष्ट्रीज प्रालिका एमडीसमेत रहेका उनले सो कुरा स्वीकारेका छन् । सोझासीधा सर्वसाधारणबाट उठाइएको बचत रकम दूरुपयोग र अपचलन गरेकोसमेत उनले अर्थबिटसँग निकै आत्मविश्वासपूर्वक स्वीकारेका छन् । उनको आत्मविश्वासका पछाडि भने स्थानीय तह,प्रशासन,संघीय राज्यले समेत देखाएको मौनता मुख्य कडी हो । बराह सहकारीमा ५ हजार सदस्य र करिब १३ हजार गैरसदस्यबाट अवैध ढंगबाट १० अर्ब रुपैयाँ हाराहारी उठाइएको बचत रकम कहाँ छ भन्ने विषय भने उनले हालसम्म सार्वजनिक गरेका छैनन् ।
यता सहकारी पीडित संघर्ष समितिका अध्यक्ष श्याम प्रसाद ढकालले सहकारी डुबाउने मुख्य नाइके मान बहादुर विश्वकर्मा भएको आरोप लगाएका छन् । हाल सहकारीमा शून्य मौज्दात मात्रै रहेको उनको जिकिर छ ।
धरानको अर्थतन्त्रमा नै भूकम्प ल्याउने बराह सहकारीका अध्यक्ष मान बहादुर विश्वकर्मालाई धरान उपमहानगरपालिकादेखि सहकारी विभागको समेत साथ सहयोग रहेको छ । गत साउनमा उपमहानगरपालिका आर्थिक विकास महाशाखाका प्रमुख भक्तिराज शर्माको संयोजकत्वमा गठन भएको ५ सदस्यीय टोलीले समेत अध्ययन प्रतिवेदन हालसम्म सार्वजनिक नगर्नुलाई निकै शंकास्पद रुपमा लिन सकिन्छ ।