धरान । यही चैत २३ गतेदेखि धरानमा विक्रम राई स्मृति भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ ।
फुटबल प्रतियोगिताको चौथो संस्करणमा यसपटक कोशी प्रदेशका ख्याति प्राप्त भेट्रान खेलाडीहरू रहेका दर्जन भेट्रान फुटबल क्लब धरान १६ मा अवस्थित रङ्गशालामा उत्रिने भएको छ ।
धरान भेट्रान फुटबल क्लबद्वारा आयोजित प्रतियोगिताको उद्घाटन खेल उदयपुरको कटारी टाइगर भेट्रान र धनकुटा राजारानीको रारा भेट्रान फुटबल क्लब बिच हुनेछ ।
भेट्रान फुटबल प्रतियोगितामा चालीस वर्ष नाघेको खेलाडीहरुले प्रतिस्पर्धामा भाग लिने छन् । उक्त प्रतियोगिताको चौथो संस्करणमा कोशी प्रदेशका १२ वटा भेट्रान क्लबहरू सहभागी छन् । सहभागी क्लबहरूमा आयोजक धरान भेट्रान्स, मिल्स भेट्रान फुटबल क्लब विराटनगर, सिध्राहा भेट्रान्स, कन्काई भेट्रन्स झापा, उदयपुरको कटारी टाइगर नर्थ पोलमा छन् । साउथ पोलमा हाम्रो धरान भेट्रान फुटबल क्लब, हाम्रो इटहरी भेट्रान, एभरेस्ट भेट्रान बेलबारी, झापाको दमक भेट्रान, काँकडभिट्टा भेट्रान फुटबल क्लब र विराट मेघा फुटबल क्लब सहभागी छन् ।
प्रतियोगिताको विजेता टिमलाई १ लाख ५ हजार रुपैयाँ नगद पुरस्कारसँगै भेट्रान कप, मेडल प्रदान गरिने छ । उपविजेता टिमले भने ६० हजार नगदसहित ट्रफी मेडल प्राप्त गर्नेछ ।
खेलमा म्यान अफ द म्याचलाई २ हजार १ सय नगद पुरस्कार प्रदान गरिने छ । प्रतियोगिता अवधिमा ९ वटा व्यक्तिगत विधामा खेलाडीहरूलाई नगद ३५ सय सहित ट्रफी मेडल प्रदान गरिने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद १० हजार पुरस्कार प्रदान गरिने छ ।
धरान पहिलो पटक २०७७ सालमा धरान भेट्रान फुटबल क्लब गठन हुँदा बिक्रम संस्थापक महासचिव थिए । ५ वर्ष अघि कोभिडको कारण उनको असामयिक निधन भएको थियो । विक्रम कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राईका भाइ थिए ।
पत्रकार सम्मेलनमा आयोजक क्लबका संरक्षक प्रदेश फुटबल सङ्घको अध्यक्ष किशोर राईले नेपालमा पछिल्लो समय नेपाली फुटबलमा ख्याति प्राप्त भेट्रान खेलाडीहरूको सक्रियता बढेको बताए । उनका अनुसार नयाँ पुस्तालाई अवसर प्रदान गर्न र भेट्रान खेलाडीहरूलाई फुटबलमा क्रियाशील राख्न भेट्रान क्लबहरूको महत्त्वपूर्ण भूमिका छ ।
त्यसैले भेट्रान खेलाडी र क्लबलाई एन्फाले वैधानिक मान्यताको दायरामा ल्याउन जरुरी भएको बताउँदै एन्फाका मानाथै केन्द्रीय उपाध्यक्ष पनि रहेका राईले भने,“यस विषयमा मेरो पहल रहने छ ।”