हजारौं करोडको शेयर बिक्री गरी दीपेन्द्र अग्रवाल नेपाल छाड्न लागेका हुन् ?

अर्थबिट २०८१-०८-०३ ०४:१५:०० बजे

काठमाण्डौ । चिरपरिचित लगानीकर्ता दीपेन्द्र अग्रवालले अबको ६ महिनाभित्र आफूसँग रहेका सम्पूर्ण शेयर बिक्री गरी विदेश पलायन हुने जिकिर गरेका छन् ।

सामान्य शेयर लगानीकर्ता भन्न रुचाउने तर फलोअरहरुले महाराजा उपाधि दिएका दीपेन्द्र अग्रवाल हजारौं करोड रुपैयाँ बराबरको शेयर बिक्री गरी बाहिरिने अनि विदेश पलायन हुने जिकिर गरेका हुन् । आफ्नो परिवारको सुख–शान्ति खोज्न र विशेषगरी द्वन्द्वमा सन्तान हुर्काउन नचाहेकाले समेत नेपाल छोड्न लागेको उनको तर्क छ । उनले नेपालको नागरिकता र सम्पूर्ण राजनीतिक अधिकारहरुसमेत त्याग्ने दाबी गरे ।

नेपाल बाहिर हालसम्म १ रुपैयाँ पनि लगानी नगरेको दाबी गर्ने अग्रवाल आगामी ६ महिनाभित्र शेयर बेच्ने,बैंक कर्जा चुक्ता गर्ने र सम्पूर्ण दायित्वहरुको हिसाबकिताब मिलान गरेपश्चात् देश छाडेर अन्यत्रै जाने निष्कर्षमा पुगेको बताउँछन् ।

तपाईंको शेयर पोर्टफोलियो चाहिँ कति बेच्दै हुनुहुन्छ भन्ने अर्थबिटको प्रश्नमा हजारौं करोड रुपैयाँ बिदेश लैजाने अग्रवालले बताए । “दीपेन्द्र अग्रवाल व्यक्ति होइन,संस्था हो । मसँगसँगै अर्बौ रुपैयाँ पोर्टफोलियो भएका साथीहरु पनि जाने तयारीमा हुनुहुन्छ”,अग्रवालले भने । “ म जहाँ गएपनि हजारौं लगानीकर्ता साथीहरु म पछिपछि अउनुहुन्छ । ”,उनले जिकिर गरे ।

देशभित्र सुरक्षाको प्रत्याभूति नहुनु र जातीय कुराले द्वन्द्व सिर्जना हुने ठहर गर्दै आफू शेयर बजार र देशबाटै बारिरिन लागेको उनको भनाइ छ । “मिहिनेत गर्दैमा अर्काको किन टाउको दुख्नु? संसारमा २०० हाराहारी देश छन् । १०० वटा जतिले त मलाई कार्पेट नै ओछ्याउँछ ।”,उनले अर्थबिटसँगको कुराकानीमा भने,“दुबईमा विभिन्न देशका मानिसहरु मिलीजुली बसेकै छन् त ।”

यस वर्ष नेप्से परिसूचक २ हजार विन्दूबाट ३ हजार विन्दूसम्मको यात्रामा दीपेन्द्र अग्रवालको पनि मुख्य भूमिका रहेको चर्चा चल्दै आएको छ । हालसालै पनि दीपेन्द्र अग्रवालले बजारमा शेयर बिक्री गरेर बाहिरिएमा पुनः नेप्से परिसूचक २ हजार विन्दू आउनसक्ने बजार वृत्तमा अड्कलबाजीसमेत हुने गरेको छ ।  

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।