काठमाण्डौ । दोस्रो बजारलाई हल्लाको बजार पनि भनिन्छ । पछिल्लो समयमा त झन् यो हल्ला र रोइलोले अर्थतन्त्रका अधिकांश क्षेत्र मौन रहेका बेला शेयर बजारको हल्लाले भने उधुमै मच्चाइरहेको छ ।
शेयर भनेकै वाणिज्य बैंकको शेयर भन्ने पर्याय बनेको नेपालको शेयर बजारमा पछिल्लो समय विकास बैंक तथा फाइनान्सका शेयरहरुको तेज निक्कै अगाडि बढिरहेको देखिन्छ । गत बुलमा समेत गति लिन नसकेको वाणिज्य बैंकले गर्दा यसका लगानीकर्ताहरुमा भने निराशा छाइरहेको छ । लाभांश शून्य हुनु, कर्जा प्रवाह रोकिनु, उच्च नियमन हुनु,कार्यालय सञ्चालन खर्च अधिक हुनु,प्रविधिमा अधिक लगानी,बढ्दो एनपीएल लगायतका कारण दोस्रो बजारमा बैंकका शेयरमूल्य एकाधमात्रै ५०० रुपैयाँ हाराहारी छन् ।
ब्लुचिप कम्पनीका रुपमा स्थापित नबिल बैंकको शेयरमूल्य ५०० रुपैयाँ मुनि नै कारोबार भइरहेको छ भने स्टाण्डर्ड चार्टड बैंकको चाहिँ प्रतिकित्ता पौने ७०० रुपैयाँ हाराहारीमा कारोबार भइरहेको छ । यता बैंकले लाभांश दिने क्षमता नराखेपछि प्रमोटरहरुसमेत शेयर बिक्री गर्ने लहड नै चहिरहेको छ । हाल रु.१०० मुनि नै पाइने प्रमोटर शेयर पाउन थालेपछि फण्डामेन्टल राम्रो भन्ने धारणा बसेको सेक्टर नै थला पर्न थालेको छ ।
बजारले K.G.F 3 देखाउँदैछ : दीपेन्द्र अग्रवाल
१ वर्षअघि मात्रै नेपाल फाइनान्स (एनएफएस) प्रतिकित्ता ३०० रुपैयाँ हाराहारीमा सहजै पाइन्थ्यो । तर सो कम्पनीको शेयरमूल्य केही समय अघि २६ सय रुपैयाँ पुगेपछि चौतर्फी ध्यानाकर्षण भयो । अहिले पनि प्रायः दैनिक पोजिटिभ सर्किट लगाउनेमा फाइनान्स र विकास बैंकका शेयरहरु नै पर्ने गरेको देखिन्छ ।
अघिल्लो बुलमा समेत बैंकले गति लिन सकेको थिएन भने यसपटक समेत बैंक खरिद गर्नेहरुको रोइलो विभिन्न सामाजिक सञ्जालहरुमा देख्न पाइन्छ अनि ब्रोकरेज फर्महरुमा समेत यसबारे चर्चा सुनिन थालेको छ । बजारमा कम आपूर्ति भएका फाइनान्स, विकास बैंक,हाइड्रो लगायतका ट्रेडरलाई भने आज पनि बजार फापेको छ । सिद्धान्ततः शेयर बजार माग र आपूर्तिमा निर्भर रहन्छ । हिजोआज ‘लो क्याप’ र ‘नन फण्डामेन्टल’ शेयरमा लगानीकर्ताहरुले पूँजीगत लाभ मनग्यै कमाइरहेका छन् भने कारोबारमार्फत् कमिशन र लाभकर पाइरहेकाले ब्रोकर कम्पनी र सरकारसमेत मख्ख भएको पाइन्छ ।
‘लो क्याप’ र ‘नन फण्डामेन्टल’ लाई नै मुख्य आधार बनाएर शेयर कारोबार गरिरहेका परिचित लगानीकर्ता दीपेन्द्र अग्रवालसँग अर्थबिटले छोटो कुराकानी गरेको थियो ।
नेपालजस्तो देशमा विदेशी लगानीकर्ताको प्रवेश नभएकाले नै आफू ‘लो क्याप’ र ‘नन फण्डामेन्टल’ मै मग्न भएको लगानीकर्ता दीपेन्द्र अग्रवाल बताउँछन् । “बैंक चलाउन ३० अर्ब चाहिन्छ,अनि व्यावसायिक घराना आफ्नै काममा भ्याईनभ्याई छ । लगानीकर्ताले आफ्नो बलबुतामा चलाउनै सक्दैनन् ।”,अग्रवाल भन्छन् ,“ बढिरहेको एनपीएल अनि लाभांश नै शून्य भएपछि पनि बैंकलाई के फण्डामेन्टल भन्नू र खै ?”
‘हाई क्याप’ हुने बित्तिकै राम्रो फण्डामेन्टल भन्ने जुन चलन छ त्यो गलत भएको अग्रवालको ठहर छ । “फण्डामेन्टलले त मेन्टल बनाउँछ ।”,उनले जिकिर गरे,“हाई क्याप हुने बित्तिकै राम्रो हुँदैन ।”
“‘इन्ट्रिन्सिक भ्यालू’ र ‘ग्रोथ भ्यालू’ हेर्ने हो भने कुनै पनि फण्डामेन्टल छैनन् ।”,दीपेन्द्र अग्रवाल दाबी गर्दै भन्छन् ,“एकाध छन् पनि जस्तो युएनएल(युनिलिभर नेपाल लि.) जसको ‘कन्जिस्टेन्ट डिभिडेन्ड’ र डिभिडेन्डसमेत ग्रोथ छ । तर खै त नबिल बैंक र स्टाण्डर्ड चार्टड बैंकमा त्यो ग्रोथ ?” “यदि बैंक फण्डामेन्ट राम्रो भए रित्तो हात पठाउँदैन नि
,होइन र ?” उनले प्रश्न तेस्र्याए । दोस्रो बजारमा पछिल्लो समय फण्डामेन्टल भन्दै बेवकुफ बनाउनेको गिरोह सक्रिय भएकोमा लगानीकर्ताहरुलाई सचेत रहन समेत उनले आग्रह गरे । उनीहरु सबै च्याँखे थापेर बसिरहेको उनले आरोपसमेत लगाए । “शेयर बजारमा आउने भनेकै पूँजीगत लाभका लागि हो ।”,उनले थप प्रष्ट्याए,“फण्डामेन्टल भन्दै एनआईसी एशिया १ हजार रुपैयाँ हाराहारीमा टोपी लगाइदिने पनि छन् ।”
नियमनकारी निकायसँग समेत लगानीकर्ता दीपेन्द्र अग्रवाल रुष्ट देखिन्छन् । “वित्तीय सूचकांक खराब भएका कम्पनीहरु किन सूचीकृत गरेको होला ?”,उनले प्रश्न गरे,“अब भन्नुस् नियामकलाई कानून बमोजिम कार्वाही हुने कि नहुने ?” “प्रिमियममूल्यमा आएका सिमेन्ट कम्पनीहरुको अवस्था कस्तो छ अहिले ? सिमेन्ट विदेश निर्यात भइरहे तापनि खै ग्रोथ ?”कम्पनीहरुको आईपीओ निष्काशनमै समेत नियमनकारी निकायहरुले घोटाला गरिरहेको अग्रवाल जिकिर गर्छन् ।
नेपालको शेयर बजारमा विदेशी लगानीकर्तालाई नखोलेसम्म ‘लो क्याप’ र ‘नन फण्डामेन्टल’ नै चल्ने अग्रवालले ठोकुवैसमेत गरे । ‘लो क्याप’ र ‘नन फण्डामेन्टल’ नै बजारमा माग भएकाले समेत प्रायः सबै रुष्ट र रोइलो मच्चाइरहेको उनको बुझाई छ । “कमाउनै नसकेपछि रोइलो भएको आफूले सुन्दै आएको बताउँदै ‘स्क्रिप्ट’ आफ्नो नचलेपछि बैंकमा आइदियोस् अनि मशीहा बनिदिओस् भनेर नै रोइलो मच्चिरहेको छ । आत्मसमर्पण गरेको रोइलो मात्रै हो अरु केही हैन । ”,उनले सुनाए ।
‘फण्डामेन्टल’हरु बजारमा पटक पटक असफल बनिरहेका छन् । तर ‘लो क्याप’ र ‘नन फण्डामेन्टल’ हरुमा खेल्ने शेयर खेलाडीहरु भने निक्कै राम्रो पैसा बनाएर कयौं पटक प्रमाणित पनि गरिरहेको अग्रवाल बताउँछन् । “मैले पनि बजारमा करोडौं ल्याएर ,करोडौं पैसा डुबाएको छु , घाटा खाएको छु ,तब पो अहिले सिकेर अर्बाैं अबौँ पैसा कमाउन सकेका हौं त । ”उनी पुनः जिकिर गर्छन्,“‘लो क्याप’ र ‘नन फण्डामेन्टल’ बाहेकको विकल्पै छैन । ”
‘लो क्याप’ र ‘नन फण्डामेन्टल’ त डुब्छन् नि फेरि शेयर बजारमा भन्ने अर्थबिटको प्रश्नमा लगानीकर्ता अग्रवाल भन्छन् ,“ फण्डामेन्टलवालाहरुको त्यो पीडा बोलेको मात्रै हो । कु्मारी बैंक डुब्दैन भन्ने ग्यारेण्टी छ ? वाणिज्य बैंकहरुको एनपीएल ३० प्रतिशत छ । बैंक ध्वस्त हुन्छ भन्ने नेपाल राष्ट्र बैंकलाई समेत थाहा छ । ”
‘लो क्याप’ र ‘नन फण्डामेन्टल’ मा कुशल खेलाडी हुन सके शेयर बजारबाट कमाउन सकिने अग्रवालको धारणा छ । “कसैका लागि भूल अनि कसैका लागि सुपर बुल भइरहेको छ । २०० रुपैयाँको एनएफएस २६ सय रुपैयाँमा बेचेको होइन ?अनि भएन त सुपर बुल ? उनले प्रश्न राखे । आफूले पनि १००/२०० करोड घाटा व्यहोरेको खुलासा गर्दै फाइनान्स कम्पनीहरुको शेयरमूल्य २०० देखि कम्तीमा १ हजार रुपैयाँ पुगेको जिकिरसमेत गरे । शेयर बजारमा परिस्थितिलाई आत्मसाथ गर्नुपर्ने उनको दृढ मान्यता छ ।