गार्डियन माइक्रोमा हौसिदै लगानीकर्ता

अर्थबिट २०८१-११-२६ ०९:००:०० बजे

काठमाण्डौ । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लि.को शेयरमा अप्राकृतिक चलखेल गर्दै बब्बल सिर्जना भइरहेको छ । 

बजारका केही गिरोहले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा बब्बल सिर्जना गर्दै अप्राकृतिक चलखेल गरिरहेका हुन् । 

कुनै तात्विक कारण गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमा छोटो समयमै डेढ दर्जन बढी सर्किट लगाउँदै मूल्य उचाल्ने काम भइरहेको छ । 

दोस्रो बजारमा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको २२ लाख ५० हजार कित्ता(म्युचुअल फण्डसहित) शेयर कारोबार योग्य छ । आम सर्वसाधारण कम्पनीको शेयरप्रति हौसिदै २ हजार बढी मूल्य उचालिएको छ । 

कारोबार सत्रमा उक्त कम्पनीको मूल्य उचाल्नकै लागि फेक डिमान्ड राख्ने कामसमेत हुँदै आइरहेको छ । कारोबार सत्रमा ३३ लाख बढी कित्ता शेयर खरिदका लागि देखाईंदै सोझा सीधा लगानीकर्ताहरुलाई उच्चमूल्यमा भिडाउन बब्बल सिर्जना गर्ने काम भइरहेको छ । कम्पनीको शेयरमा १८ सय आसपास बिक्री गरी ठूला र बाठा लगानीकर्ताहरुले साना लगानीकर्ताहरुलाई भिडाउन सफल भइसकेकोमा बाँकी बचेको केही हजार कित्ता पनि उच्च मूल्यमा दैनिक बिक्री गरिरहेको भेटिन्छ । डीपी म्यापिङ्ग नै परिवर्तन गरी अर्कै ब्रोकरेज फर्मबाट शेयर बिक्री भइरहेको कम्पनीको शेयरमा कुन दिन बब्बल फुट्ने हो त्यो समय भने निक्कै दुःखदायक नै हुनेछ । 

कतिपय बाठा लगानीकर्ताले भने गत साता र यस साता बल्कमा ठू–ठूला कित्ता सर्किटमै बेचर उम्सिकेका छन् । उनीहरुले गार्डियनको प्रतिकित्ता रु. १ हजार ५० आसपासमा खरिद गरी १८ सय पुर्याएर बिक्री गर्न सफल भए । आम सर्वसाधारण लगानीकर्ताहरु भने हौसिदै उच्च मूल्यमा खरिद गरिरहेको पाइन्छ । कृत्रिम माग सिर्जना गर्दै कम्पनीको शेयरमा बब्बल सिर्जना भइरहेकाले उच्च मूल्यमा फस्ने सम्भावना पनि बढ्दै गइरहेको छ । 

बजारमा जीवन बीमा कम्पनीमध्येकै एक सिटिजन लाइफ इन्स्योरेन्सको शेयर मूल्य ७२० आसपास किनबेच भइरहेको छ । जसले हालसालै २८ वर्ष बोनस शेयर शेयरधनीलाई वितरण गर्ने प्रस्ताव समेत राखेको छ । लगभग उस्तै प्रकृतिका कम्पनीको मूल्य ७०० आसपासमा हुने तर लो क्यापकै चक्करमा उच्च मूल्यमा फस्ने सम्भावना भने झनै बलियो हुँदै गइरहेको छ । 

कम्पनीको शेयर रकेटझैं आकाशिएर २ हजार नाघिसक्दा पछिल्ला केही दिनयता भने भोल्युमसमेत बढिरहेको छ । सोमबार कम्पनीको १ लाख ५६ हजार बढी कित्ता शेयर खरिदबिक्री भएको नेप्सेले जानकारी दिएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।