काठमाण्डौ । अब दोस्रो बजारमार्फत् खरिद गरिएका शेयर पनि बिक्री गर्नु अघि नेप्सेलाई अग्रिम रुपमा सूचना दिनुपर्ने व्यवस्था लागू भएको छ ।
नेपाल धितोपत्र बोर्डले हालसालै सार्वजनिक गरेको प्रस्तावित नियामकीय ढाँचा सम्बन्धी अवधारणापत्र, २०८३ अनुसार अब दोस्रो बजारमार्फत् खरिद गरिएका शेयर बिक्री गर्नु अघि पनि नेप्सेलाई १५ दिन अगावै अग्रिम रुपमा सूचना दिनुपर्ने व्यवस्था लागू भएको हो ।
धितोपत्र बोर्डका एक उच्च अधिकारीका अनुसार संस्थापक शेयर धनी मात्रै नभई दोस्रो बजारमार्फत् शेयर खरिद गरेका साधारण शेयरधनीले पनि बिक्री अगावै सूचना दिनुपर्ने भएको छ । यो नियम सबैका लागि भएको ती अधिकारीको प्रष्टोक्ति छ ।
बोर्ड र स्टक ब्रोकर स्रोतहरुका अनुसार यो नयाँ नियममा संसोधन आवश्यक रहेको भनी अनौपचारिक कुराकानी भइरहेको छ । बोर्डको उच्च स्रोतका अनुसार नियम लागू गरेपछि यसको प्रभाव तथा असर नियाल्ने र संसोधन गर्ने योजना रहेको छ ।
पछिल्लो समय बजारमा एकथरी लगानीकर्ताहरु संस्थापक शेयरधनीले मात्रै अग्रिम सूचना दिनुपर्ने र अर्काथरी लगानीकर्ताहरु दोस्रो बजारका शेयरधनीले सूचना दिनु नपर्ने लगायतका विभिन्न अवधारणा बनाइरहेका छन् । साथै यो विषय पछिल्लो समय निक्कै चर्किदै गइरहेको बहस पनि हो ।
यो नयाँ व्यवस्था लागू भएपछि बजारमा दुई धारका लगानीकर्ताहरु भेटिएका छन् । एकथरीले साना लगानीकर्तालाई बचाउने र सबैलाई समान अवसर रहेको टिप्पणी गरिरहेका छन् । अर्काथरी भने दोस्रो बजारबाट खरिद गरिएका शेयर पनि बिक्री अगावै सूचना दिनुपर्दा ठूला लगानीकर्तामाथि अनावश्यक हस्तक्षेप र निगरानी भएको जिकिर गरिरहेका छन् ।
सोही व्यवस्थालाई अहिले बजारमा व्यापक अन्यौलसमेत सिर्जना भइरहेको छ । कतिपयले सो नयाँ व्यवस्था लकइन अवधि खुलेका संस्थापक शेयरधनीका हकमा मात्र लागू हुने बुझेका छन् । २५ करोडभन्दा माथि चुक्ता पूँजीको १ प्रतिशत र २५ करोड पूँजी भएको कम्पनीको ५ प्रतिशतको नियम दोस्रो बजारमार्फत् खरिद गरी होल्ड गरिएका शेयरमा पनि लागू हुने कतिपयको बुझाइ रहेको छ ।
वास्तवमा आधारभूत शेयरधनी भन्नाले संस्थापक शेयर धनी मात्रै नभई साधारण शेयरधनी पनि हुन् । अर्थात् दोस्रो बजारबाट खरिद गरिएका शेयरधनीले निर्धातिर प्रतिशत होल्ड गरेकालाई समेत आधारभूत शेयरधनीका रुपमा मानेको छ । यो व्यवस्था कम्पनी ऐन,२०६३ को दफा ५० मा स्पष्ट रुपमा उल्लेख भएको देखिन्छ ।
यही असोजमा नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्ज-नेप्से)मा सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले शेयर बिक्री गर्नु अघि धितोपत्र बजारलाई अग्रिम सूचना दिनुपर्ने व्यवस्थाको प्रस्तावित नियामकीय ढाँचा सम्बन्धी अवधारणापत्र, २०८३ सार्वजनिक गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले शेयर बिक्री गर्नु अघि धितोपत्र बजारलाई अग्रिम सूचना दिनुपर्ने व्यवस्था रहेको छ ।
हाल लागू गरिएको व्यवस्था अनुसार सूचीकृत कम्पनीका आधारभूत शेयरधनीले आफूले धारण गरेको शेयरको ५ प्रतिशत वा सोभन्दा बढी शेयर बिक्री गर्नुपर्ने भएमा बिक्री गर्नुभन्दा कम्तीमा १५ दिन अगावै सम्बन्धित कम्पनीलाई जानकारी दिनुपर्ने र त्यस्तो सूचना नेप्सेमार्फत् सार्वजनिक गर्ने व्यवस्था छ ।
सेबोनले बजारमा पारदर्शिता बढाउन, बजार निगरानी प्रभावकारी बनाउन,असामान्य मूल्य उत्तारचढाव तथा बिक्री चापलाई व्यवस्थित गर्न, लगानीकर्ताको विश्सनीयता अभिवृद्धि गर्ने उद्देश्य रहेको जनाइएको छ । प्रमुख शेयरधनीको ठूलो बिक्री सम्बन्धी जानकारी केबल कम्पनी, ब्रोकर,सेबोन र नेप्सेमै सीमित रहयो भने बजारका अन्य लगानीकर्ताले सम्भावित ठ्रलो आपूर्तिबारे जानकारी नपाउने अवस्था बन्नसक्छ । सूचनामा समान पहुँच कायम गर्नु मुख्य औचित्य रहेको सेबोनले प्रष्ट्याएको छ ।
हाल रु. २५ करोड भन्दा बढी चुक्ता पूँजी भएको संस्थामा १ प्रतिशत वा सोभन्दा बढी शेयरधारण गर्ने तथा अन्य अवस्थामा ५ प्रतिशत वा सोभन्दा बढी शेयरधारण गर्ने शेयरधनीलाई आधारभूत शेयरधनीका रुपमा लिइन्छ ।
उक्त अवधारणा धितोपत्र बोर्डकै डेपुटी कार्यकारी निर्देशक नारायण प्रसाद शर्माको संयोजकत्वमा बनेको कमिटीले बनाएको थियो ।
यो पनि पढ्नुस् : शेयर बिक्री गर्नु अघि अग्रिम सूचना दिनुपर्ने व्यवस्थाले बजारमा मच्चियो आतंक !