नेप्सेको डेटामा बढ्यो चोरहरुको बिगबिगी , कानूनी कार्वाहीका लागि मुद्दा चलाइने तयारी

अर्थबिट २०८३-०६-२१ १३:१६:२९ बजे

काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) को डेटा धमाधम चोरी भइरहेको छ । 

गैरकानूनी ढंगले नेप्से अनलाइन ट्रेडिङ्ग सिस्टम नट्स को डेटा खरिद नै नगरी अनधिकृत रुपमा चोरी भइरहेको हो । 

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार हालसम्म २ वटा कम्पनीले मात्रै आधिकारिक रुपमा नट्सको एपीआई खरिद गरेका छन् । गत वर्ष ब्रोकर कम्पनीबाहेक ८ वटा कम्पनीले नेप्सेको एपीआई आधिकारिक रुपमा खरिद गरेका थिए ।

अहिले सोर्सकोर्ड र शेयर हबले मात्रै एपीआईमार्फत् डेटा खरिद गरेको प्रवक्ता पराजुलीले जानकारी दिए । अनधिकृत रुपमा नेप्सेको एपीआई चलाउनु गैरकानूनी भएको उनको ठहर छ । एपीआई खरिद नै नगरी डेटा पाइरेसी गरेको खण्डमा प्रमाणका साथ कानूनी कार्वाहीका लागि मुद्दा चलाइने उनले कडा चेतावनीसमेत दिए । 

नेप्सेसँग खरिद नै नगरी चोरेर डेटा प्रयोग गर्नु भनेको पाइरेसी भएको आइटी जानकारहरुको भनाइ छ । सम्बन्धित संस्थाको सहमति र अनुमतिबिनै गरिएको डेटाको प्रयोग तथा बिक्री वितरण चोरी नै हो । कतिपयले नेप्सेकै नजिकै सर्भर राखी भोल्युममा शेयर कारोबार गरिरहेका छन् । यस्तो अभ्यासले गर्दा बारम्बार सर्भरमा अतिरिक्त भार पर्ने भएकाले कहिलेकाहीँ सिस्टममा समस्या पनि आइरहेको छ ।

विशेषगरी बट ट्रेडिङ्ग गर्ने कारोबारीहरुका कारण सर्भरमा भार पर्दछ । एल्गोरिदममा आधारिक शेयर कारोबारले अन्ततः सर्भरमा अनपेक्षित बढी भार पर्न जान्छ । हाई फ्रिक्वेन्सी ट्रेडिङ्गमा आधारित भई खरिद तथा बिक्री आदेश गर्दा सर्भरको क्षमता प्रभावित हुन जान्छ । 

पछिल्लो समय नेपालको शेयर बजारमा पनि धेरै लगानीकर्ताहरुले बट ट्रेडिङ्ग गर्दै आइरहेका छन् । अर्गानिक ट्रेडिङ्गले सर्भरमा भार पर्दैन । तर बट ट्रेडिङ्ग व्यापक म्यानुपुलेसनसमेत भइरहेको छ । कृत्रिम रुपमा चार्ट बनाउन त्यस्ता सीप प्रयोग हुँदा स्वस्थ शेयर कारोबार हुन सकिरहेको छैन । गैरकानूनी ढंगले डेटा चोर्नेहरुमाथि नेप्सेले कडाभन्दा कडा कानूनी कार्वाही चाल्नुपर्ने आइटी जानकारहरुको जोड छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।