मागभन्दा पाँच गुणा बढी सुपारी आयात

RSS २०७८-११-२० १५:२२:०० बजे

काठमाण्डौ।राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिमा तेस्रो मुलुकबाट आयात हुने सुपारीको व्यापारमा भइरहेको नीतिगत व्यवस्थाका बारेमा अध्ययन गर्न गठित उपसमितिको प्रतिवेदन पेश गरिएको छ ।

उपसमिति संयोजक सांसद रमेशजङ्ग रायमाझीले आज समिति सभापति तारादेवी भट्टलाई प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिवेदनका विषयमा समितिको आगामी बैठकमा छलफल गरी सरकारका सरोकार भएका निकायलाई निर्देशन दिइने उहाँले जानकारी दिनुभयो । 

सुपारीसँग सम्बन्धित गुट्खा उद्योगले पाँच हजार मेट्रिकटन सुपारी भए पुग्छ भन्ने गरेकामा सरकारले २५ हजार मेट्रिकटन आयात गर्न दिएको संयोजक रायमाझीले जानकारी दिनुभयो । यस विषयमा समितिले केही सचिव र सुपारी आयातकर्तालाई बैठकमा बोलाएकामा अनुपस्थित भएको उहाँले बताउनुभयो । 

व्यवसायीको प्रभावमा परेर सरकारले देशमा आवश्यकताभन्दा बढी सुपारी आयात गर्न दिएको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । आयात भएको सुपारी भारत जाने गरेको पनि सांसद रायमाझीले बैठकमा सुनाउनुभयो । यस विषयमा छलफल गर्न बैठकमा बोलाउँदा भन्सार विभागका महानिर्देशक पनि सरकारको निर्देशन पालना गर्नुपर्ने भन्दै नआएको उहाँले समिति बैठकमा जानकारी गराउनुभयो ।

सभापतिसहित चार सांसदको बिदाइ

समितिको आजको बैठकमा आजदेखि चार वर्षे कार्यकाल पूरा गर्न लाग्नुभएका सभापति भट्ट, सांसदहरू दीनानाथ शर्मा, कविता बोगटी र चक्रप्रसाद स्नेहीलाई बिदाइसमेत गरिएको छ । 

बिदाइ कार्यक्रममा सांसद गङ्गाकुमारी बेल्वासे, स्नेही, नन्दा चापागाइँ, बिमला घिमिरे, शारदादेवी भट्ट, महेशकुमार महरा र बोगटीले चार वर्षे कार्यकालमा समितिले दिएका धेरै निर्देशन सरकारले कार्यान्वयन नगरेको, कोभिडका कारण समितिको वार्षिक कार्ययोजना पूरा हुन नसकेको विषयमा सरोकार भएका निकायको ध्यानाकर्षण गराउनुभएको थियो । 

बैठकमा सभापति भट्टले समिति सचिवालयले दिएका निर्देशन कार्यान्वयन भए÷नभएको नियमितरूपमा पछ्याउने विश्वास व्यक्त गर्नुभयो । सभापति कार्यकालको अन्तिम बैठकमा उहाँले चार वर्षसम्म कार्यसम्पादनमा सहयोग गर्ने सबैप्रति धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।