एनटीसीको नयाँ सिमकार्ड रु.२० मै, रिचार्जमा बोनस सुविधा समेत उपलब्ध हुने

अर्थबिट २०८२-१२-२६ १०:४५:०० बजे

काठमाण्डौ । नेपाल टेलिकमले २०८२ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर २०८२ उपलब्ध गराएको छ । यस अफर अन्तर्गत विद्यार्थीहरुलाई नयाँ सिमकार्ड उपलब्ध गराइने छ भने पहिले नै नेपाल टेलिकमको सिम प्रयोग गरिरहेका विद्यार्थीहरुले समेत सोही नम्बरमा उक्त अफर प्राप्त गर्न सक्ने छन् । 

एसईई अफर आज बिहीबारदेखि सुरु भएको छ र आगामी २०८३ साल असार २६ गतेसम्म उपलब्ध हुनेछ ।

यसका लागि रु. २० मा नयाँ सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट उपलब्ध हुनेछ । सिमकार्ड सक्रिय गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् । नयाँ सिमकार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने रु. ९.८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सकिने छ । 

यसमा एसईई प्याकेज २०८२ अन्तर्गत ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन–नेट भ्वाइस, १० वटा अन–नेट एसएमएस र ५०० एमबी डाटा समेत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने सेवा सोही दिनका लागि मात्र कायम रहनेछ ।

अफर अन्तर्गत उपलब्ध हुने बोनस अन रिचार्जमा रु. ५० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा प्रत्येक रिचार्जमा जुनसुकै समयमा ५०० एमबी डाटा चलाउन, नेपाल टेलिकमकै नेटवर्क भित्र ५० मिनेट कल गर्न  र ५० वटा अन–नेट एसएमएस पठाउन सकिने बोनस सुविधा समेत उपलब्ध हुनेछ । रिचार्जमा प्राप्त हुने बोनस प्राप्त भएको तीन दिनभित्र प्रयोग गरिसक्नु पर्दछ ।

नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ । साथै सिमकार्ड सक्रिय गर्नका लागि स्वयंले *1414#  डायल गर्नुपर्नेछ । सो पश्चात् अफर प्राप्त गर्नका लागि *1600#  डायल गरी निर्देशन अनुसार गर्नुपर्नेछ । 

पहिले नै प्रयोग भइरहेको सिममा समेत *1600# डायल गरी प्राप्त निर्देशन अनुसार अंग्रेजी अल्फाबेट बाहेक एसईईको सिम्बोल नम्बर  टाइप गरी सेन्ड गर्ने । 

विक्रम संवतमा जन्म मिति टाइप गरी Send गर्ने,  DOB  टाइप गर्दा YYMMDD  Format मा टाइप गर्नुपर्नेछ । 

सबै तथ्यांक प्रमाणिकरण पश्चात अफर उपलब्ध हुनेछ । 

गत वर्ष समेत कम्पनीले विद्यार्थीहरुलाई यस प्रकारको अफर उपलब्ध गराएको र विद्यार्थीहरुको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै यसलाई निरन्तरता दिइएको हो । यसबाट विद्यार्थी वर्ग लाभान्वित हुने कम्पनीको अपेक्षा छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।