रुससँगको व्यापार रोक्न युरोपलाई युक्रेनी राष्ट्रपतिको आग्रह

RSS २०७८-१२-०८ १२:५५:०० बजे

काठमाण्डौ।युक्रेनका राष्ट्रपति भोलोडिमीर जेलेन्स्कीले रुससँगको व्यापार बन्द गर्न युरोपेली देशहरूलाई अनुरोध गर्नुभएको छ । 

आफूमाथि झन्डै एक महिनादेखि आक्रमण गरिरहेको रुसलाई दबाबमा पार्नका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युरोपेली देशका नेताहरूलाई आग्रह गर्नुभएको हो ।

“कृपया रुससँग लड्नका लागि हामीलाई हतियार सहयोग चाहिएको छैन, हामीलाई तपाई सहयोग गर्न चाहनुहुन्छ भने रुससँगको तपाईहरूको व्यापार बन्द गरिदिए हुन्छ,” उहाँले भन्नुभयो ।

भिडियोमार्फत गरिएको सम्बोधनका क्रममा उहाँले रुससँग युरोपेली देशहरूले कुनै लेनदेन नगर्ने, आफ्ना सामान पनि उता नपठाउने र उताबाट पनि केही सामान आयात नगर्ने हो भने रुस दबाबमा पर्ने दाबी गर्नुभयो । 

“रुसलाई युक्रेनबाट भाग्न बाध्य बनाउन म सबैलाई अनुरोध गर्दछु,” युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भन्नुभयो । 

जर्मनीलाई नामै लिएर उहाँले जर्मनी र युरोपसँग रुसलाई दबाबमा पार्नसक्ने क्षमता भएको दाबी गर्दै त्यो प्रयोग गर्न अनुरोध गर्नुभयो । 

युरोपेली देशहरूका विदेश मन्त्रीहरूको बैठक चलिरहेका बेला उहाँले उनीहरूलाई नै लक्षित गरी यस्तो अनुरोध गर्नुभएको हो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।