नेपालको कूटनीतिक सम्बन्ध १७४ देशमा विस्तार

RSS २०७८-१२-०८ १४:३६:०० बजे

काठमाण्डौ।नेपाल र फिलिपिन्सको दक्षिणपूर्व प्रशान्त महासागरमा अवस्थित देश गणतन्त्र पलाउबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । यो सँगै नेपालसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध भएका देशको सङ्ख्या १७४ पुगेको छ ।

कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी संयुक्तपत्रमा संयुक्त राष्ट्रसङ्घका लागि नेपालका स्थायी प्रतिनिधि अमृतबहादुर राई र उक्त विश्व संस्थाका लागि गणतन्त्र पलाउका स्थायी प्रतिनिधि इलाना भिक्टोरिया सेडले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगमा सोमबार आयोजित एक सङ्क्षिप्त समारोहमा हस्ताक्षर गर्नुभयो ।

दुवै देशका राजदूतले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापनाबारे जानकारी गराउने संयुक्तपत्रमा पनि हस्ताक्षर गर्नुभएको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले आज जनाएको छ ।

त्यस अवसरमा दुवै राजदूतले दुई देशको पारस्परिक हितका लागि राष्ट्रिय तथा बहुपक्षीय एवं विशेषगरी संयुक्त राष्ट्रसङ्घका  मञ्चहरूमा द्विपक्षीय सहयोगलाई सुदृढ बनाउन साझा हितका विभिन्न विषयमा विचारविमर्श गर्नुभएको थियो ।

गणततन्त्र पलाउ १५ डिसेम्बर १९९४ मा १८५औँ सदस्य राष्ट्रको रूपमा संयुक्त राष्ट्रसङ्घमा सामेल भएको हो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।