ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तार गर्न नेपाल र भारत सहमत, ‘रुपे डिजिटल कार्ड’ पनि संयुक्त रुपमा सार्वजनिक

विशेष प्रतिनिधि कृ २०७८-१२-१९ ०४:२२:०० बजे

काठमाण्डौ। नेपाल र भारतबीच ऊर्जा, इन्धन, रेल सेवा सञ्जाल विस्तारलगायत पारस्परिक सहयोग एवं सहकार्य गर्नेसम्बन्धी चारवटा समझदारीपत्रमा हस्ताक्षर भएको छ । 

भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदी नेतृत्वको प्रतिनिधिमण्डलबीच यहाँस्थित हैदरावाद हाउसमा भएको वार्तापछि अन्तर्राष्ट्रिय सौर्य ऊर्जा साझेदारीमा नेपाल औपचारिक रूपमा सामेल हुने, नेपालको रेल्वे क्षेत्रमा भारतीय प्राविधिक सहयोग, पेट्रोलियम क्षेत्रमा सहयोग र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच विशेषज्ञ आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । 

आजै दुवै देशका प्रधानमन्त्रीले कुर्था–जयनगर यात्रुवाहक रेल सेवालाई झन्डा देखाएर शुभारम्भ गर्नुभयो भने नेपालमा प्रयोगका लागि भारतको ‘रुपे डिजिटल कार्ड’ पनि संयुक्त रुपमा सार्वजनिक गर्नुभयो । प्रधानमन्त्री देउवा र प्रधानमन्त्री मोदीले सोलु करिडोर १३२ किलोभोल्ट प्रसारण लाइनको पनि संयुक्त रुपमा उद्घाटन गर्नुभयो । उक्त प्रसारण लाइन भारत सरकारको रु तीन अर्ब २० करोड ऋण सहयोगमा र भारत सरकारको सहयोगमा नेपालमा निर्माण भएको हो । 

समझदारीपत्रमा हस्ताक्षरपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले नेपाल–भारत सम्बन्धका विविध पक्षमा फलदायी छलफल भएको बताउनुभयो । उहाँले भारतसँग नेपालको सम्बन्ध अति महत्वपूर्ण भएको उल्लेख गर्दै प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वमा भारतले गरेको प्रगतिको  प्रशंसा गर्नुभयो । 

कोभिड–१९ को महामारी नियन्त्रणका लागि भारतले गरेको प्रभावकारी व्यवस्थापनको सराहना गर्दै प्रधानमन्त्री देउवाले महामारीविरुद्धको नेपालको लडाइँमा भारतबाट पहिलो खोप सहायताका साथै औषधि, चिकित्सा उपकरण उपलब्ध गराएकामा भारतप्रति हार्दिक आभार व्यक्त गर्नुभयो । साथै उहाँले आजदेखि प्रचलनमा आएको रुपेबाट नेपालको वित्तीय क्षेत्रमा नयाँ अध्याय थपिएको बताउनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।