आन्तरिक रोजगारी प्रवद्र्धनमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता

RSS २०७८-१२-२३ ०९:०४:०० बजे

काठमाण्डौ।विश्व बैंकले नेपालको आन्तरिक रोजगारी प्रवद्र्धनमा नेपाल सरकारलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठसँग विश्व बैंकका क्षेत्रीय निर्देशक लीन वेन्जसहित प्रतिनिधिमण्डलले गरेको शिष्टाचार भेटमा बैंकका तर्फबाट उक्त प्रतिबद्धता व्यक्त भएको हो । 

भेटमा विश्व बैंकको लगानीमा रहेका परियोजनाको प्रभावकारिताका विषयमा छलफल भएको श्रम मन्त्रीको सचिवालयले जनाएको छ । सो अवसरमा मन्त्री श्रेष्ठले आन्तरिक रोजगारीका लागि सरकारले लिएको रणनीति कार्यान्वयनमा विश्व बैंकको सहयोग महत्वपूर्ण रहेको बताउनुभएको थियो । 

विश्व बैंकले आन्तरिक रोजगार सिर्जना गर्न प्रधानमन्त्री रोजगार कार्यक्रमसँग आबद्ध युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनामा गरेको सहयोगका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिनुभयो । बेरोजगार व्यक्तिको वैयक्तिक विवरण, ज्ञान, सीप र अनुभव, रोजगारीको सम्भाव्य क्षेत्र तथा श्रम बजारका माग र आपूर्ति पक्षसमेतको विवरण एकीकृत गरी रोजगार व्यवस्थापन सूचना प्रणालीको स्तरोन्नतिका लागि विश्व बैंकले सहयोग गरेको छ । 

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन दीगो रोजगारीसँग जोडने, बेरोजगार, विपन्न तथा लक्षित वर्गका लागि उपयोगी किसिमका पूर्वाधार विकास गर्ने तथा बजारको मागअनुसार रोजगारी आपूर्ति गर्नेतर्फ थप सहकार्यको जरुरी रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । 

भेटमा विश्व बैंकका क्षेत्रीय निर्देशक लीनले सरकार, विकास साझेदार र निजी क्षेत्रसँग सहकार्य गरी विपन्न तथा जोखिमपूर्ण जीवनयापन गरेका नेपाली जनतालाई सहयोग गर्न विश्व बैंक तयार रहेको बताउनुभयो । 

नेपाल सरकारको आन्तरिक रोजगारी प्रवद्र्धनसम्बन्धी नीति कार्यान्वयनमा विश्व बैंकले सहयोग गर्ने लीनले बताउनुभयो । युवा रोजगारीका लागि रूपान्तरण पहल आयोजनाले विपन्न बेरोजगार युवालाई रोजगारीको अवसर सिर्जना, सीप तथा क्षमता अभिवृद्धि र रोजगारमूलक सेवाको विस्तारमार्फत श्रम बजारको परिणाममा सुधार ल्याउने उहाँले बताउनुभयो । 

सो अवसरमा प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय कार्यक्रम निर्देशक डन्डुराज घिमिरेले परियोजनामार्फत भइरहेका कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।