श्रीलङ्कामा अझै एक महिनालाई पुग्ने इन्धन छ - प्रधानमन्त्री विक्रमासिङ्घे

RSS २०७९-०२-०५ १२:५२:०० बजे

काठमाण्डौ।श्रीलङ्कामा अझै एक महिनालाई पुग्ने पेट्रोलियम पदार्थ रहेको सरकारले दावी गरेको छ । 

प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले बिहीबार संसद्लाई सम्बोधन गर्दै आगामी जुन मध्यान्तर सम्मलाई पुग्नेगरि पेट्रोलियम पदार्थ रहेको दावी गर्नु भएको हो ।  

अहिले नै पेट्रोलियम पदार्थको अभाव भइनसकेको र अहिले भण्डारण गरिएको पेट्रोलियम पदार्थबाट थप एक महिनालाई पुग्ने उहाँको भनाई छ । 

डिजल, पेट्रोल लगायतका पेट्रोलियम पदार्थको चरम अभाव रहेको हल्ला चलेपछि अभाव र महङ्गी थप बढ्न थालेपछि प्रधानमन्त्री विक्रमासिङ्घेले यस्तो जवाफ दिनु भएको हो ।

उहाँले पेट्रोलियम पदार्थको प्रयोग घटाउन, किफायती गर्न र बचत गर्न भने सबैलाई आग्रह गर्नु भएको छ । तर हाहाकार हुन्छ झै गरेर लामो लामो लाइनमा बसेर आवश्यकताभन्दा बढी पेट्रोलियम पदार्थ किनेर घरघरमा बचत गर्न भने आवश्यक नरहेको उहाँको भनाई छ । 

पेट्रोलियम पदार्थको अभाव हुने हल्ला चलेपछि पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने पेट्रोल पम्पहरूमा उपभोक्ताको भिड लाग्ने गरेको र अस्वभाविक रुपमा धेरै किन्ने गरेको पाइएको छ ।  

उहाँले देशको आर्थिक अवस्था केही महिनादेखि नै संकटपूर्ण रहेको र त्यो अवस्था दिन प्रतिदिन बिग्रिदै गएको भन्दै यस्तो परिस्थितिमा सबैले आपसमा मिलेर काम गर्नुपर्नेमा पनि जोड दिनु भएको छ । 

दक्षिण एसियाली मुलुक श्रीलङ्का यतिखेर आर्थिक तथा राजनीतिक सङ्कटमा गुज्रिएको छ । विषेश गरेर आर्थिक संकट बढेपछि महङ्गी र अभाव पनि बढेको थियो र त्यही कारणले आम नागरिक आन्दोलित भएका थिए ।

तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्षले राजीनामा दिनुपर्ने माग गर्दै आन्दोलन भएपछि उहाँले राजीनामा दिएकाले राष्ट्रपति गोटावाय राजापाक्षले केही दिनअघि विक्रमासिङ्घेलाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।