काठमाण्डौ। श्रीलङ्काका प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले माल्दिभ्सका पूर्व राष्ट्रपति तथा सभामुख मोहम्मद नाशिदलाई विषेश जिम्मेवारी दिनुभएको छ ।
आर्थिक तथा राजनीतिक सङ्कटमा परेको श्रीलङ्काको लागि राहत संकलन गर्न संयोजनकारी भूमिका खेल्ने जिम्मेबारी उहाँलाई दिइएको हो ।
विषेश गरेर अन्य मुलुकहरूले श्रीलङ्कालाई दिने सहयोगका लागि उहाँले संयोजनकारी भूमिका खेल्ने प्रधानमन्त्रीको कार्यालयले जनाएको छ ।
माल्दिभ्सका पूर्व राष्ट्रपति नाशिदले संयोजनकारी भूमिका खेल्न चाहेको र त्यो जिम्मेबारी दिन आग्रह गरेको पनि प्रधानमन्त्रीको कार्यालयले स्वीकार गरेको छ ।
कार्यालयका अनुसार नाशिदको आग्रह अनुसार नै उहाँलाई प्रधानमन्त्री विक्रमासिङ्घेले जिम्मेबारी दिनु भएको हो ।
आफ्नो देशलाई सघाउन लागेकोमा विक्रमासिङ्घेले नाशिदलाई धन्यवाद दिँदै श्रीलङ्काको आर्थिक सङ्कट समाधान गर्न राहत पुग्ने विश्वास व्यक्त गर्नुभएको छ ।
“श्रीलङ्काको आर्थिक सङ्कट समाधानका लागि सहयोगी भूमिका खेल्न चाहेको र त्यसका लागि विभिन्न मुलुकहरूसँग समन्वय गर्ने जिम्मेबारी दिएमा गर्ने माल्दिभ्सका पूर्व राष्ट्रपति मोहम्मद नाशिदको प्रस्तावलाई मैले स्वीकार गरेको छु । सोही अनुसार उहाँलाई जिम्मेबारी पनि दिएको छु,” प्रधानमन्त्री विक्रमासिङ्घेले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ ।
तत्कालीन प्रधानमन्त्री महेन्दा राजापाक्षले आन्दोलनको दबाबमा प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि केही दिन अगाडि विक्रमासिङ्घे प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो ।
उहाँले शुक्रबार नै मन्त्रपरिषद् विस्तार पनि गर्नु भएको छ । त्यसैगरी सङ्कट समाधानका उपायका बारेमा अन्य सरोकारवालाहरूसँग पनि पहल गर्नुभएको छ ।