उत्तर कोरियामा ज्वरोबाट २२ लाख प्रभावित, ६५ जनाको मृत्यु

RSS २०७९-०२-०६ १४:५६:०० बजे

काठमाण्डौ। उत्तर कोरियामा अप्रिलको अन्त्यदेखि अहिलेसम्म ज्वरोका बिरामी २२ लाख २४ हजार ६ सय १० पुगेको कोरियाको केन्द्रीय समाचार संस्था (केसीएनए) ले शुक्रबार जानकारी गराएको छ ।

यो अवधिमा चौध लाख ८६ हजार ७३० भन्दा बढी बिरामी निको भइसकेका र ६५ जनाको मृत्यु भएको बताइएको छ ।

उत्तर कोरियाली अधिकारीले बुधबार दिउँसोदेखि बिहीबारसम्मको २४ घण्टाको अवधिमा दुई लाख ६३ हजार ३७० व्यक्ति ज्वरोको कारण अस्पताल तथा स्वास्थ्य केन्द्रमा उपचारका लागि पुगेका बताइएको छ । यो अवधिमा देशभर दुई लाख ४८ हजार ७२० भन्दा बढी निको भएक र दुई जनाको मृत्यु भएको केसीएनएले स्वास्थ्य अधिकारीलाई उद्धृत गरी लेखेको छ । 

राष्ट्रव्यापी महामारी विरोधी अभियान सुरु भएदेखि देशका बासिन्दाहरूलाई दैनिक आवश्यकता प्रदान गर्न लगभग ३० हजार अतिरिक्त सेवाकर्मी परिचालन गरिएको र झन्डै आठ हजार सेवा प्रदायक टोलीहरू स्थापना गरिएका अभियानले बताएको छ । 

उक्त रिपोर्टअनुसार ज्वरोको प्रकोपबारे सही अनुमान लगाउन र शहर तथा काउन्टीहरूमा समय समयमा कदम चाल्न राष्ट्रव्यापी प्रणाली पनि स्थापना गरिएका बताइएकोे छ ।

राजधानी शहरबाहिरका क्षेत्रहरूमा ज्वरो वा असामान्य लक्षणहरू भएका बिरामीहरूको चतुरताका साथ सामना गर्न प्योङयाङका नागरिकहरूलाई निरन्तर र तत्काल चिकित्सा सेवा प्रदान गर्न र टेलिमेडिसिन प्रणाली मार्फत् स्थानीय अस्पतालहरूलाई प्राविधिक सहायता प्रदान गर्न प्योङयाङका राष्ट्रिय अस्पतालहरू जुटेका छन् ।

राष्ट्रिय आकस्मिक महामारी रोकथाम केन्द्रले राष्ट्रव्यापी मापदण्डमा मास्क र सुरक्षात्मक कपडाको उत्पादन बढाउन कदम चालिरहेको छ र महामारी रोकथाम सामग्रीको कुल सङ्ख्याको नपुगेका र अभाव भएका क्षेत्रमा एकीकृत तरिकाले यसको प्रयोग गरिरहेको बताइएको छ । केसीएनएले मे १२ मा जनाए अनुसार मे ८ मा प्योङयाङको राजधानीमा बिरामीहरूको एउटा समूहबाट नमूनाहरू संकलन गरिएको र त्यसमा कोभिडको नयाँ स्वरूप ओमिक्रोन देखिएको थियो । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।