काठमाण्डौ।श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजपाक्षले मालसामानको अभाव हुन नदिन सबै आवश्यक खाद्य वस्तुको पर्याप्त भण्डार कायम गर्न अधिकारीहरूलाई निर्देशन दिएको राष्ट्रपतिको सञ्चार विभागले शुक्रबार जनाएको छ ।
राष्ट्रपतिले कृत्रिम रूपमा सामानको अभाव सिर्जना गरी मानिसको डरमा काम गरेर मूल्य वृद्धि गर्न केही व्यवसायीको संगठित प्रयासलाई रोक्न सक्ने जिकिर गर्नुभयो । हाल थोक बजारमा पठाइँदै आएको कृषि उत्पादनको केही हिस्सा सिधै किराना पसलहरुमा उपलब्ध गराउनुपर्ने उहाँले बताउनुभयो ।
राष्ट्रपतिले यसो गर्दा यातायातको खर्च कम हुने र उपभोक्तालाई कम मूल्यमा सामान खरिद गर्न र किसानलाई उच्च मूल्य प्राप्त गर्न सक्षम बनाउने बताउनुभयो ।
राजपाक्षले प्रतिकुल परिस्थितिको फाइदा उठाउने र अनुचित मूल्यमा सामान बिक्री गर्नेलाई कानुनी कारबाही गर्न पनि उपभोक्ता हित प्राधिकरणलाई निर्देशन दिनुभएको छ ।
सन् २०२१ अप्रिलमा रासायनिक मलको प्रयोगमा देशले प्रतिबन्ध लगाएपछि कम उत्पादनका कारण पछिल्ला महिनाहरूमा खाद्यान्नको मूल्यमा तीव्र वृद्धि भएको श्रीलङ्काले जनाएको छ ।
सरकारले हालै रासायनिक मलमा लगाइएको प्रतिबन्ध हटाएको छ । उसले आगामी खेती गर्ने समयका लागि ताजा मल भण्डार आयात गर्ने कुरा बताएको छ ।