अर्थमन्त्री र विश्व बैंकको प्रबन्ध निर्देशकबीच भेट, हालसम्म तीन अर्ब डलर बराबरको वित्तीय सहकार्य

अर्थबिट २०७९-०३-०५ ०८:०८:०० बजे

काठमाडौ।अर्थमन्त्री जनार्दन शर्मा प्रभाकर र विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुबीच शिष्टाचार भेट भएको छ । 

अर्थमन्त्रालयमा आइतबार बिहान ११ बजे भएको भेटमा मन्त्री शर्माले विश्व बैंकसँग लामो समयदेखि रही आएको सम्बन्ध र विकास साझेदारीको स्मरण गर्दै सहयोगको प्रशंसा गरेका थिए । 

‘नेपालको विकास प्रयासमा विश्व बैंक लामो समयदेखि एउटा भरपर्दो साझेदार संस्थाको रुपमा रहिआएको छ’ भेटमा उनले भने । विश्व बैंकले कोभिड–१९ पछिको परिस्थितिसँग जुध्न प्रदान गरेको १ सय २२ मिलियन अमेरिकी डलर बराबरको वित्तीय सहयोगका लागि मन्त्री शर्माले धन्यवाद दिए । पछिल्लो समय नेपालका लागि विश्व बैंकको वित्तीय सहयोग उल्लेखनीय रुपमा बढ्दै गएको छ ।

सन् १९६९ मा १६.९ लाख अमेरिकी डलरको वित्तीय सहयोगबाट नेपालसँग विश्व बैंकको सहकार्य शुरु भएको थियो । हालसम्म तीन अर्ब अमेरिकी डलर बराबरको २५ आयोजनामा सहकार्य भएको छ । केही महत्वपूर्ण आयोजनाहरु सम्झौताको चरणमा रहेको र हाल संचालित आयोजनाहरु निक्कै महत्वपूर्ण र दुरगामी प्रकृतिको रहेको मन्त्री शर्माले बताए ।

‘विश्व बैंकसँगको वित्तीय सहकार्यमा सञ्चालित आयोजनाहरु समयमै सम्पन्न गरी सोको लाभ जनतालाई हस्तान्तरण गर्न हामी सबैको प्रयास रहनेछ’ मन्त्री शर्माले भने । सो अवसरमा आर्थिक वर्ष ०७९–८० को बजेट मूलत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा केन्द्रित भएको उनले जानकारी दिए । 

‘मैले भर्खर प्रस्तुत गरेको बजेटका माध्यमबाट अर्थतन्त्रलाई आयातबाट उत्पादनतर्फ, जोखिमबाट समष्टिगत आर्थिक स्थिरतातर्फ र बन्चितिकरणबाट समावेशीतातर्फ लाने गरी प्रस्थान बिन्दुको रुपमा उल्लेख गरेको छु’ उनले भने ।

सो अवसरमाा विश्व बैंकको प्रबन्ध निर्देशक मारी अल्का पान्जेस्तुले बजेट समावेशी र सबै क्षेत्रलाई समेट्ने गरी आएकोमा खुसी लागेको बताइन् । उनले नेपालको विकास साझेदारको रुपमा सहभागी हुन पाउँदा खुसी  लागेको बताउँदै आगामी दिनमा पनि बित्तीय सहयोगमार्फत नेपालको समग्र विकास प्रणालीमा सघाउ पु¥याउने जानकारी दिइन् । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।