अप्पर सोलुको आइपीओ आउँदै

अर्थबिट २०७९-०३-०९ १२:२६:०० बजे

काठमाण्डौ।अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले सर्वसाधारणमा साधारण शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले यही असार २० गतेदेखि प्रतिकित्ता रु १०० अङ्कित रु १९ करोड ५७ लाख ५० हजार मूल्य बराबरको १९ लाख ५७ हजार ५०० कित्ता साधारण शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपीओ ) बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले कूल निष्काशनको दुई प्रतिशतले हुने ३९ हजार १५० कित्ता कर्मचारीहरूलाई र पाँच प्रतिशत अर्थात् ९७ हजार ८७५ कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी १८ लाख २० हजार ४७५ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्ने जनाएको छ ।

कम्पनीले सार्वजनिक गरेको आह्वान पत्रानुसार सर्वसाधारणले यही असार २३ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता शेयर खरिदका लागि आवेदन दिन पाउने छन् । जसमा मागबमोजिम आवेदन नपरे आगामी साउन २ गतेसम्म बिक्री खुला हुने पत्रमा उल्लेख छ । हाल आइपीओमा आवेदन दिनेको सङ्ख्यामा उल्लेख्य वृद्धि भएकाले निष्काशन बन्द छिटो नै हुने देखिन्छ ।

कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका हुँदै बहने सोलुखोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत तथा मेरो शेयरको मोबाइल एप तथा वेबसाइटमार्फत शेयर खरिदका लागि आवेदन दिन सक्नेछन । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलाई इक्रा नेपालले ‘इक्रनपी–आइआर बिबी प्लस’ ग्रेडिङ प्रदान गरेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।