काठमाण्डौ।नेपाल सुनचाँदी ब्यवसायी महासंघले सुनचाँदी व्यवसायसम्बन्धी कानून निर्माणको लागि सरकारसँग आग्रह गरेको छ ।
महासंघको प्रतिनिधीमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिसँग हालै भेट गरी सुनचाँदी व्यवसाय सम्वन्धी प्रष्ट कानून नभएको जनाउँदै शीघ्र यस सम्वन्धी व्यवस्था गर्न आग्रह गरेको हो ।
महासंघका अध्यक्ष माणिक रत्न शाक्यको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले संसदको उद्योग, वाणिज्य तथा आपूर्ति समितिका सभापति विमल श्रीवास्तव सहित सांसहरुसँग भेट गरी शीघ्र कानून निर्माणका लागि पहल गर्न आग्रह गरहेको हो ।
भेटका क्रममा महासंघको प्रतिनिधिमण्डलले कानूनमा समेटिनु पर्ने विषयहरुका बारेमा समेत जानकारी गराएको थियो ।
सुनचाँदी व्यवसाय सञ्चालन सम्वन्धी प्रष्ट कानूनको अभावमा यो क्षेत्रमा आवद्ध व्यवसायी मर्कामा पर्दै आएका छन् । कानून निर्माणका लागि ब्यवसायीका तर्फवाट बारम्बार सम्वन्धित निकायाको ध्यानाकर्षण गराइँदै आएको भए पनि त्यसको सुनुवाई नहुँदा यो क्षेत्रमा कानूनको अभाव कायमै छ ।
भेटका क्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्य सहित बिशिष्ट सदस्य मणि रत्न शाक्य, उपाध्यक्ष दियस रत्न शाक्य लगायतको सहभागिता रहेको थियो ।