काठमाण्डौ।निजी कम्पनीमा काम गर्ने कर्मचारीहरुले समयमै तलब नपाएको वा कम पाएको गुनासो गर्ने गरेको तपाईँ हामीले प्रायः सुन्ने गरेकै छौँ । तर दक्षिण अमेरिकी देश चिलीमा भने एक कम्पनीले आफ्नो कर्मचारीको खातामा २८६ महिनाको तलब एकै पटक जम्मा गरिदिएको छ ।
उक्त कम्पनीले जानाजान यस्तो गरेको भने होइन । कन्सोर्सियो इण्डष्ट्रियल डे अली मेन्तोस नामक उक्त कम्पनीले गल्तीले आफ्नो एक कर्मचारीको खातामा २८६ महिनाको तलब एकैपटक जम्मा गरिदिएको हो ।
अझ रमाइलो कुरा के छ भने उक्त कर्मचारीले खातामा आएको पैसा फिर्ता गर्ने वचन दिएका थिए तर अहिले उनी आफ्नो वचनबाट पछि हटेका छन् । पैसा फिर्ता गर्नुका साटो अहिले उनले आफ्नो वकिलको सहायताले कम्पनीबाट राजीनामा दिएका छन् ।
मिडिया रिपोर्टका अनुसार उक्त कर्मचारीको तलब ५ लाख पेसो(चिलीको राष्ट्रिय मुद्रा)थियो । कम्पनीले गत मे महिनामा भूलवश उनको खातामा १६.५४ करोड पेसो जम्मा गरेको थियो । जब कम्पनीको व्यवस्थापनले रेकर्ड रुजु गर्यो तब कम्पनीलाई यो गल्ती बारे थाहा भयो । पैसा फिर्ता नगरेका कारणले अहिले कम्पनीले यस विषयमा उक्त कर्मचारी विरुद्ध कानूनी कदम उठाउने निर्णय गरेको छ ।
चिलीमा पेसोको हिनामिना गर्ने विषय प्यानल कोड अन्तर्गत पर्ने गर्दछ । जसमा अन्य व्यक्तिलाई नोक्सान पुर्याउने उद्धेश्यले हिनामिना गर्ने विषयसमेत समावेश छ ।