काठमाण्डौ।नेपाली मौलिक गरगहना लगाएर विदेशवाट नेपाल आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा अनावश्यक रुपमा कडाई हुने गरेको भन्दै सुनचाँदी ब्यवसायीहरुले त्यसमा सहजीकरण गर्न भन्सार विभागसँग आग्रह गरेका छन् ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यको नेतृत्वमा मंगलबार गएको महासंघको प्रतिनिधिमण्डलले विभागका महानिर्देशक कमल प्रसाद भट्टराईलाई भेटगरी यस्तो आग्रह गरेको हो ।
महानिर्देशक भट्टराईसँगको भेटका क्रममा महासंघका अध्यक्ष शाक्यले नेपाली मौलिक गरगहना लगाएर विदेशवाट नेपाल आउँदा ५० ग्रामभन्दा बढीको सामान ल्याएमा त्यसको भन्सार लिने गरिएको प्रति असन्तुष्टि जनाउँदै विमानस्थल भन्सारवाट आवत–जावत गर्दा भन्सारमा अवरोधन गर्न नहुने धारणा राखे ।
विद्यमान ब्यवस्था अनुसार विदेशवाट नेपाल आउँदा प्रत्येक ब्यक्तिले ५० ग्रामसम्म सुन भन्सार छुटमा ल्याउने पाउने ब्यवस्था छ । तर गरगहनाको हकमा यस्तो सीमा निर्धारण गरिएको छैन । नेपालवाट बाहिर जाँदा गरगहना लगाएर जान पाइने तर बाहिरवाट नेपाल आउँदा ५० ग्राम भन्दा बढी गरगहना लगाएको पाइएकाले त्यसको समते भन्सार लिने गरेको पाइएपछि ब्यवसायीहरुले त्यसको विरोध गरेका हुन् ।
भन्सार विभागका महानिर्देशक भट्टराईले ब्यवसायीका समस्याको अध्ययन गरी त्यसलाई सम्वोधन गर्न पहल गर्ने बताए । यद्यपि यस क्रममा कतिपय ब्यक्तिले गगहनाको वहाना बनाएर सुन नै ल्याउन खोजेको भेटिएपछि यसका कडाई गर्नु परेको उनको जिकिर छ ।
भेटका क्रममा महासंघका तर्फवाट अध्यक्ष शाक्य सहित उपाध्यक्ष पवन कुमार सोमानी, महासचिव धर्मशुन्दर बज्राचार्य र कोषाध्यक्ष सुदिप श्रेष्ठ थिए ।