साउदी अरबका नेतासँग वाइडेनको भेटवार्ता

RSS २०७९-०३-३२ ०९:२२:०० बजे

काठमाण्डौ।अमेरिकी राष्ट्रपति जो वाइडेनले शुक्रबार साउदी अरबका नेताहरूसँग भेटवार्ता गर्नु भएको छ । 

साउदी अरबको जेद्दा सहरमा उहाँहरूका बीचमा दुई पक्षीय हितका बारेमा कुराकानी भएको साउदी प्रेस एजेन्सीले जनाएको छ । 

दुई दिने राजकीय भ्रमणका लागि साउदी अरब आउनु भएका अमेरिकी राष्ट्रपति वाइडेनलाई राजा सलमान बिन अब्दुलाजिज अल साउदले जेद्दा स्थित अल सलाम दरबारमा स्वागत गर्नु भएको थियो ।

उहाँहरूसँगको भेटवार्तामा साउदी अरबका राजकुमार मोहम्मद बिन सलमान अल साउद पनि सहभागी हुनु भएको थियो । 

बैठकका क्रममा राजा सलमान र राष्ट्रपति वाइडेनले दुई देशको सम्बन्धको समीक्षा गर्दै यसलाई थप बलियो, फराकिलो र राम्रो बनाउने बारेमा छलफल गर्नु भएको थियो । 

रियाद र वासिङ्टनको सहकार्य र सम्बन्धलाई बलियो बनाउने उपाय र आधारका बारेमा उहाँहरूले विचार विमर्श गर्नु भएको जनाइएको छ ।

मध्य पूर्वको आफ्नो पहिलो भ्रमण उहाँले साउदी अरबबाट अन्त्य गर्न लाग्नु भएको छ । बुधबार सुरु भएको उहाँको भ्रमण शनिबार सकिने बताइएको छ । उहाँ यस अघि इजरायल र वेस्ट व्यङ्क जानु भएको थियो । उहाँले साउदी अरबको भ्रमण अन्त्य गर्नु पूर्व गल्फ कर्पोरेसन काउन्सिलका सदस्य नेताहरूसँग सामूहिक छलफल गर्नुहुने भएको छ । छलफलमा साउदी अरबसँगै इजिप्ट र इजरायलका नेता पनि सहभागी हुने जनाइएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।