काठमाण्डौ।नक्कली बिल वनाएर नक्कली गरगहना बिक्री गर्ने गिरोह काठमाण्डौ उपत्यका लगायत मुलुकका विभिन्न शहरमा सक्रिय हुन थालेको पाइएको छ । उनीहरुले नक्कली पसलको नाम राखी ठगी गर्ने गरेको समेत पाइएको नेपाल सुनचाँदी ब्यवसायी महासंघका कार्यवाहक अध्यक्ष मोहन काजी शाक्यले बताए । शाक्यका अनुसार यस्तो गिरोहले नक्कली पसल खडा गरी त्यसैको नाममा विल समेत बनाएर नक्कली गरगहनालाई सक्कली भन्दै बिक्री वितरण गर्ने गरेको पाइएको हो ।
यसै सिलसिलामा ललितपुर सुनचाँदी ब्यवसायी संघको एक प्रतिनिधीमण्डलले बुधबार महासंघमा यस बिषयमा जानकारी गराउँदै यस्ता गविविधिवाट सतर्क रहन सम्पूर्ण सुनचाँदी ब्यवसायी तथा उपभोक्तालाई जानकारी गराउन आग्रह गरेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका महासचिव धर्मशुन्दर बज्राचार्यले अवैध धन्दामा सक्रिय गिरोहको बारेमा महासंघमा जानकारी आएको बताउँदै यस्तो गिरोहवाट जोगिन आम ब्यवसायी तथा उपभोक्तारुलाई आग्रह गरे ।
पछिल्लो समय यसरी नक्कली बिल लगायतका कागजात बनाई नक्कली सुनको कारोबार गर्ने गिरोह सक्रिय छ । यस्तो गिरोहले ललिपुर सुनचाँदी ब्यवसायी संघको सदस्य रहेको भन्दै बनेपा लगायतका स्थानमा नक्कली गरगहना बिक्री गर्दै हिँडेको पाइएको छ ।