एफबिआईको कार्यालयमा हतियारसहित प्रवेशको प्रयास गर्ने एकजना मारिए

RSS २०७९-०४-२७ १८:३९:०० बजे

काठमाण्डौ।सिन्सिनाटीस्थित सङ्घीय अनुसन्धान ब्युरो (एफबिआई) को कार्यालयमा प्रवेश गर्न खोज्ने एकजना हतियारधारीको कानुन कार्यान्वयन निकायका अधिकारीहरूसँगको झडमा मृत्यु भएको छ । 

बिहीबार बिहान हतियार बोकेका एकजनाले एफबिआईको कार्यालयमा जबरजस्ती पस्ने प्रयास गरेको र उसले कार्यालय प्रवेश पूर्वको सुरक्षा प्रक्रिया उल्लङ्घन गरेपछि केहीबेर भनाभन भएको थियो । सुरक्षाअधिकारीहरूले सम्झाउने प्रयास गर्दा ती हतियारधारीले गोली चलाएपछि जवाफी कारबाहीमा उनको मृत्यु भएको हो । घटनास्थलमा नै ती हतियारधारी सन्दिग्धको ज्यान गएको ओहायोको प्रहरीले जनाएको छ ।

कानुन कार्यान्वयन इकाइका अधिकारीहरूले ती सन्दिग्धलाई छलफल तथा कम घातक रणनीति अख्तियार गरेर नियन्त्रणमा लिने प्रयास गरेका तर निज त्यहाँबाट भागेको र पुनः पक्राउको प्रयास गर्दा गोली प्रहार गरेकाले सुरक्षाकर्मीहरूको जवाफी कारबाहीमा निजको मृत्यु भएको प्रहरीको भनाइ छ । 

एफबिआईको कार्यालयमा हतियारसहित प्रवेश गर्ने निजको प्रयास, त्यसको मनसाय के थियो भन्ने स्पष्ट भएको छैन । अधिकारीहरूले त्यसको अनुसन्धान गरिरहेका छन् । यो घटना पूर्वराष्ट्रपटि डोनाल्ड ट्रम्पको फ्लोरिडा पामबिचस्थित निवासमा एफबिआईले छापा मारेको केही दिनपछि भएको हो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।