काठमाण्डौ।स्टक ब्रोकर नम्बर ४९ अनलाइन सेक्युरिटीज लिमिटेडमा परिणत भएको छ ।
वि.सं.२०६४ साल पुस १० गते स्थापित अनलाइन सेक्युरिटीज प्रा.लि. गत साउन ९ गतेबाट अनलाइन सेक्युरिटीज लिमिटेडमा परिणत भएको हो ।
सुरुवाती पूँजी ५० लाख रुपैयाँ रहेको कम्पनीको हाल १२ करोड ५० लाख रुपैयाँ रहेको छ भने नेटवर्थ २० करोड रुपैयाँ छ । नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृति भएमा कम्पनीले निकट समयमा सर्वसाधारणलाई समेत आइपीओ निष्काशन गर्ने अनलाइन सेक्युरिटीज लिमिटेडका अध्यक्ष अनन्त कुमार पौडलले जानकारी दिए । हाल कायम चुक्ता पूँजीको २५ प्रतिशत अर्थात् ३ करोड १२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ निष्काशन गरिने उनले बताए ।
व्यावसायिक हिसाबले अन्य ब्रोकर कम्पनीहरुको तुलनामा विगत ८ वर्षदेखि अग्रपंक्तिमा आफूलाई राख्न सफल यात्रामा साथ दिने नियामक निकाय,सञ्चालक समिति,व्यवस्थापन समिति,सेवाग्राही,अन्य सहयोगी निकायहरु,कर्मचारी तथा सम्पूर्ण शुभचिन्तकहरु प्रति अनलाइन सेक्युरिटीज लिमिटेडले कृतज्ञता व्यक्त गरेको छ । आगामी दिनहरुमा पनि विगतका झैं सद्भाव,मार्गदर्शन,साथ र सहयोगका लागि कम्पनीको अपेक्षा छ ।
कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौ–२८ पुतलीसडकमा अवस्थित छ । हाल सम्म कम्पनीले धरान र नुवाकोटमा शाखा विस्तार गरिसकेको छ भने निकट भविष्यमा उर्लाबारी र बर्दिबासमा पनि शाखा विस्तारका लागि धितोपत्र बोर्डसमक्ष आवेदन दिइसकेको छ ।