काठमाण्डौ।महँगीलाई आर्थिक भाषामा मुद्रास्फीति भनिन्छ । अलिकति मुद्रास्फीति हुनु अर्थतन्त्रका लागि स्वस्थकर मानिन्छ । तर मुद्रास्फीति अधिक भएमा मुद्राको क्रय शक्ति घट्छ । अर्थतन्त्रमा यसको बहुआयामिक र चक्रीय असर पर्न सक्छ ।
महँगीमा मानिसहरु पैसा जोगाउनतिर लाग्दा वस्तु तथा सेवाको उपभोग घटेर व्यापारिक संस्थानहरुको फाइदा र विस्तार घट्छ । जसले गर्दा नयाँ जागिर सिर्जना हुँदैन, फाइदा घट्दा कर्मचारी कटौती हुन पनि सक्छ।
कोरोना महामारीले गर्नसक्ने आर्थिक असरलाई न्यूनीकरण गर्न २०१९–२०२० मा संसारभरका केन्द्रीय बैंकहरुले उदार मौद्रिक नीति अपनाए । विभिन्न सरकारहरुले राहत प्याकेजहरु पनि बाँडे । कोरोना महामारी मत्थर भए लगत्तै रुस–युक्रेनको युद्ध सुरु भयो । जसको कारण पैसाको प्रवाह बढेर माग बढ्यो तर सो अनुसारको आपूर्ति हुन सकेन। फलस्वरुप आज संसारभर महँगी अचाक्ली बढेको छ ।
महँगीलाई काबुमा राख्ने मौद्रिक नीतिको औजार ब्याजदर वृद्धि नै हो । यो औजार शतप्रतिशत प्रभावकारी नै हुन्छ भन्ने चाहिँ छैन। ब्याजदर बढे कर्जा लिने घट्छन् ,पैसाको प्रवाह घट्छ र पैसाको मूल्य (भ्यालू) बढ्छ भन्ने साधारण सिद्धान्त हो । संसारभरका केन्द्रीय बैंकहरुले अहिले ब्याजदर वृद्धि गर्ने नीति बनाईरहेका छन् तर मूल्यवृद्धि नियन्त्रणमा आउने छाँटकाट भने देखिएको छैन ।
गत सोमबार अमेरिकामा एक सर्वेक्षणको नतिजा सार्वजनिक भयो । ‘नेशनल एसोसिएसन अफ बिजनेस इकोनोमिक्स’ नामको संस्थाले अगस्ट १ देखि अगस्ट ९ सम्म १९८ जना अर्थशास्त्रीहरुसँग सो सर्वेक्षण गरेको थियो ।
सर्वेक्षणमा अर्थशास्त्रीहरुसँग आर्थिक मन्दीबारे राय मागिएको थियो । जसमा ७२ प्रतिशत अर्थशास्त्रीहरुले अमेरिकी केन्द्रीय बैंकले मन्दी रोक्न नसक्ने र अर्को वर्षको मध्यसम्ममा आर्थिक मन्दीले अमेरिकी अर्थतन्त्रलाई हिर्काउने राय दिए ।
सहभागीहरु मध्ये १३ प्रतिशत अर्थशास्त्री मात्र अमेरिकी केन्द्रीय बैंकले मुद्रास्फीति रोकेर मन्दी रोक्न सक्छ भन्ने कुरामा विश्वस्त भएको पाइयो ।
अमेरिकी डलर संसारको रिजर्भ मुद्रा हो । तसर्थ अमेरिका आर्थिक मन्दीको चपेटामा परे त्यसको बाछिटा धेरै थोरै संसारको प्रत्येक कुनामा पर्ने निश्चित नै छ ।
-एजेन्सीको सहयोगमा विनय कोइरालाद्वारा अनुवादित