वीरगञ्ज नाकाबाट हुने कारोबार घट्दै, राजस्व सङ्कलनमा नकारात्मक प्रभाव

RSS २०७९-०५-०८ १४:३४:०० बजे

काठमाण्डौ।देशकै प्रमुख व्यापारिक नाका वीरगञ्जलाई प्रयोग गरी स्वदेश तथा विदेशतर्फ हुने कारोबारमा सङ्कुचन देखिएको छ । वीरगञ्ज नाका प्रयोग गरी हुने मालवस्तुको आयात निर्यात २८ प्रतिशतले घटेपछि त्यसको नकारात्मक प्रभाव भन्सार कार्यालयको राजस्व सङ्कलनमा परेको छ ।

गत आर्थिक वर्षको साउनमा वीरगञ्ज नाकाबाट कुल १६ हजार चार सय ३७ प्रज्ञापनपत्रमार्फत कारोबार भएको तुलनामा चालु आवको सोही अवधिमा चार हजार पाँच सय ८९ कम आर्थिक ११ हजार आठ सय ४८ प्रज्ञापन पत्रमात्र कारोवारका लागि प्रयोग भएका छन् । यो समीक्षा अवधिको तुलनामा २७.९१ प्रतिशत कम हो । वीरगञ्ज भन्सारबाट ग्रिन च्यानलमार्फत हुने कारोबारमा ३९ प्रतिशत, एलो च्यानलबाट हुने कारोबारमा २० प्रतिशत र रेड च्यानलमार्फत हुने कारोवार २७ प्रतिशतले कमी आएको भन्सार कार्यालयले जनाएको छ ।

गत आवको साउनमा ग्रिन च्यानलबाट चार हजार ६६, एलो च्यानलबाट चार हजार तीन सय ६० र रेड च्यानलबाट आठ हजार ११ वटा प्रज्ञापनपत्रमार्फत कारोबार भएकोमा चालु आवको सोही अवधिमा ग्रिन च्यानलबाट एक हजार पाँच सय ८०, एलो च्यानलबाट तीन हजार पाँच सय १२ र रेड च्यानलबाट पाँच हजार आठ सय ५० प्रज्ञापनमार्फत कारोबार भएको भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिनुभयो । उहाँले वैदेशिक मुद्राको सञ्चितिलाई सन्तुलित गर्न सरकारले १० वटा विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धकै कारण कारोबार कम भई राजस्व सङ्कलनमा समेत असर परेको बताउनुभयो ।

असार ३१ गते नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी चारपाङ्ग्रे सवारीसाधन लागायतका विलासी वस्तुको आयातमा प्रतिबन्ध लगाएपछि वीरगञ्ज नाकाको कारोबारमा कमी हुँदै गएको सूचना अधिकारी गुप्ताले जानकारी दिनुभयो । उहाँले आर्थिक वर्षको पहिलो महिनामा राजस्व सङ्कलन तथा कारोबारमा केही गिरावट देखिए पनि आउने दिनमा राजस्व सङ्कलनमा सुधार हुँदै जाने बताउनुभयो । सरकारले राजपत्रमा प्रकाशित गरी लगाएको प्रतिबन्ध हटाइएकाले कारोबारमा बढोत्तरी हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

कारोबारमा देखिएको सङ्कुचनकै कारण वीरगञ्ज भन्सारले राजस्व सङ्कलनको मासिक लक्ष्य हासिल गर्न सकेको छैन । साउन महिनाका लागि भन्सार विभागले रु १५ अर्ब २० करोड सात लाख राजस्व सङ्कलनको लक्ष्य दिएको तुलनामा कार्यालयले रु दुई अर्ब २१ करोड आठ लाख कम अर्थात् रु १२ अर्ब ९८ करोड ९९ लाख मात्र राजस्व हासिल गरेको अधिकृत गुप्ताले जानकारी दिनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।