क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

RSS २०७९-०५-०९ १३:२६:०० बजे

काठमाण्डौ।क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने एकजनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले क्रोएसिया पठाइदिन्छु भनी ठगी गर्ने मोरङ विराटनगर महानगरपालिका–१६ घर भई हाल काठमाडौँ महानगरपालिका–१० बानेश्वर बस्ने २६ वर्षीय उत्सव दाहाललाई आज पक्राउ गरेको हो ।

पक्राउ दाहालले वैदेशिक रोजगारीका लागि क्रोएसियाको कृषि फर्ममा मासिक रु एक लाखसम्म तलब हुन्छ भनी पीडितसँग रु छ लाख २४ हजार लिएर ठगी गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । उनलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ । सोही कार्यालयले बैंकिङ कसुर मुद्दामा फरार दुई जनालाई पक्राउ गरेको छ । उच्च अदालत पाटनको विभिन्न मितिमा भएको फैसलापछि फरार रुकुमपूर्वका ३१ वर्षीय अर्जुन बुढाथोकी र मकवानपुरका २८ वर्षीय सन्तोष सापकोटालाई विभिन्न मितिमा पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

प्रहरीले अर्जुनलाई काठमाडौँ सुकेधाराबाट मङ्गलबार र सन्तोषलाई काठमाडौँको नयाँबानेश्वर बुद्धनगरबाट आज पक्राउ गरेको हो । पक्राउ परेका अर्जुनलाई उच्च अदालतले रु एक करोड १९ लाख जरिवना र २४ दिन कैद सजाया साथै सन्तोषलाई रु दुई लाख ५९ हजार जरिवना र पाँच दिन कैद सजाया ठहर गरेको थियो । पक्राउ परेका अर्जुनलाई जिल्ला अदालत काठमाडौँमा र सन्तोषलाई जिल्ला अदालत ललितपुरमा फैसला कार्यान्वयनका लागि उपस्थित गराइएको प्रहरीले जनाएको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।