आयात र रेमिट्यान्सले मात्रै देश चल्दैन : मन्त्री शर्मा

अर्थबिट २०७९-०५-१० १३:४९:०० बजे

काठमाण्डौ।अर्थमन्त्री जनार्दन शर्माले आयात र रेमिट्यान्सले मात्रै देश नचल्ने बताउनुभएको छ । नेपाल उद्योग व्यापार महासङ्घ चितवनको पाँचौँ जिल्ला सम्मेलनमा आज यहाँ उहाँले आन्तरिक उत्पादनको राजश्वले देश चल्ने बनाउनुपर्ने बताउनुभयो । 

अहिले देश आयात र रेमिट्यान्सले धानेको भन्दै उहाँले भन्नुभयो, “अब देश चलाउन भन्सारको राजस्वमा भर पर्ने होइन आन्तरिक उत्पादनको राजस्वले देश चल्ने बनाउनुपर्छ ।” अहिले देशमा उत्पादनमुखी अर्थतन्त्र आवश्यक रहेको उहाँको भनाइ थियो । 

देशको अर्थतन्त्रलाई स्थायित्व दिनका लागि गाउँगाउँमा उद्योग र व्यवसाय सञ्चालन हुन जरुरी रहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “श्रमयोग्यलाई तालिम दिएर उद्योगी, व्यवसायी वा देशमा नै श्रम गर्न प्रेरित गर्नुपर्छ ।” उत्पादनले मात्रै देशलाई आत्मनिर्भर बनाउन सकिने भन्दै उहाँले उत्पादनका क्षेत्रमा लगानी बढाउन राज्य तयार रहेको बताउनुभयो । निजी, सहकारी र सरकारी तबरको लगानीले आयातलाई निरुत्साहित गर्दै निर्यात बढाउनु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ थियो । 

मन्त्री शर्माले विश्वभर भइरहेको मूल्यवृद्धि र विभिन्न देशमा चलेको युद्धको असर नेपालमा परेको बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वमा चलेको मूल्यवृद्धि र युद्ध रोकिने अवस्थामा छैन । अझै फैलिने क्रम जारी छ । यसको असर नेपालमा पनि परेको छ ।” आर्थिक विकास र उत्पादनलाई सहयोग पुग्ने गरी सरकारले नीति कार्यक्रम बनाएको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “हामीले ल्याएको बजेट कार्यान्वयनमा आउँदा देशमा रहेको गरिबीको अन्त्य हुन्छ ।”

फरक प्रसङ्गमा बोल्दै उहाँले अहिलेको गठबन्धन देशको र राजनैतिक बाध्यताले बनेको बताउनुभयो । अहिलेको गठबन्धन सहकार्य गरेर अघि बढ्नुको विकल्प नरहेको उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “गठबन्धनले सहकार्य गरेर अघि बढ्नुपर्छ । गठबन्धनलाई निश्चित समय दिए राजनैतिक स्थायित्व र विकासमा सहयोग पुग्छ ।” अहिले दलबीच गठबन्धनलाई सफल पार्नेगरी छलफल भइरहेको उहाँले बताउनुभयो । 

महासङ्घका जिल्ला अध्यक्ष दयाराम दवाडीको अध्यक्षतामा सम्पन्न अधिवेशनले विष्णुप्रसाद पौडेलको अध्यक्षतामा २२ सदस्यीय नयाँ कार्यसमिति समेत गठन गरेको छ । समितिको उपाध्यक्षमा किशोर वगाले, विश्वमित्र श्रेष्ठ, सचिवमा गोविन्द अर्याल, कोषाध्यक्षमा जयराम खत्री, सह–सचिवमा दिनेश सेढाईं र सहकोषाध्यक्षमा केदारबहादुर कार्की रहनुभएको छ ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।