नोयडास्थित ‘ट्विन टावर’ भत्काइयो

RSS २०७९-०५-१२ १३:२७:०० बजे

काठमाण्डौ।नोयडामा रहेका ‘सुपरटेक ट्विन टावर’ लाई आइतबार तीन हजार ७०० किलोग्राम विस्फोटक पदार्थको प्रयोग गरी भत्काइएको छ । 

अग्ला दुई गगनचुम्बी भवनहरूको निर्माण गैरकानुनी रहेको बताउँदै आइएको थियो । विश्व सम्पदा सूचीमा रहेको राष्ट्रिय राजधानीको ऐतिहासिक कुतुब मीनारभन्दा अग्ला भएका कारण यसले मीनारको महत्वलाई ओझेलमा पारेको थियो । भवन निर्माण गैरकानुनी रहेको भन्दै परेको मुद्दामाथि सुनुवाईपछि भएको फैसलामा सर्वोच्च अदालतले टावरहरू भत्काउन अनुमति दिएको थियो । अदालतको आदेशपछि अगस्ट २१ का लागि तय गरिएको यो काम नोएडा प्राधिकरणको अनुरोधमा २८ अगस्टसम्म लम्ब्याइएको थियो ।

भत्काइएका ३२ तल्ले एपेक्स र २९ तल्ले सियान नामक ती भवनहरू मीनारभन्दा १०० मिटर अग्ला थिए । दुई गगनचुम्बी भवनहरू भत्काउन कम्तीमा तीन हजार ७०० किलोग्राम वजनको विस्फोटक पदार्थ प्रयोग गरिएको बताइएको छ । 

कुतुब मीनार भारतको नयाँ दिल्लीको महरौलीमा अवस्थित इँटाबाट बनाइएको विश्वको सबैभन्दा ठूलो मीनार हो र यो विश्व सम्पदा क्षेत्रमा सूचीवद्ध रहेको छ ।  

एउटा बटन थिचेर विस्फोट गराइएको नौ सेकेन्डपछि टावरको भग्नावशेष जमिनमा थुप्रो लागेको छ भने भवन भत्किँदा निस्केको धूलोले उक्त क्षेत्रको बस्ती र निकै माथि उचाइसम्म ढाकेको थियो । धुलो र विष्फोटबाट निस्केको धुँवाका कारण वरपरको वायुमण्डल प्रदूषित देखिएको छ ।  

यद्यपि, उत्तर प्रदेश सरकारको वातावरण विभागले प्रदूषणको स्तर अनुगमन गर्न भत्काइएको स्थानमा ६ वटा विशेष धुलो मेशिन जडान गरेको छ । भत्काइएको ठाउँ नजिकैको क्षेत्रमा आकाश र जमिनको सतहमा रहेको धुलोलाई ‘एन्टी स्मोग गन’ले हावामा पानीका थोपाहरू छर्केर तल झारेको थियो । 

–घरभित्रै बस्न र मास्कको प्रयोग गर्न सबैलाई विज्ञको आग्रह–

उत्तर प्रदेशको नोयडामा रहेको सुपरटेक ट्विन टावर भत्काइएपछि धुलोको बादल मडारिएको अवस्थामा स्वास्थ्य विज्ञले आसपासका क्षेत्रका बासिन्दालाई घरभित्र बस्न, ढोका बन्द गर्न र घरका झ्यालहरू बन्द राख्न, हावा शुद्ध पार्ने उपकरणहरू प्रयोग गर्न र घरबाहिर निस्कँदा एन–९५ मास्क लगाउन सुझाव दिएका छन् । 

भत्किएको सुपरटेक ट्विन टावरको भग्नावशेष जमिनमा खस्ने क्रममा आसपासमा धुलोको बादलसँगै उक्त क्षेत्र उजाड देखिएको छ । सेक्टर–९३–ए नजिकका अस्पतालहरूले सावधानीका उपायहरू अपनाउँदै आवश्यक परेको खण्डमा आपतकालीन चिकित्सा सेवा प्रदान गर्ने तयारी गरेको बताएका छन् । 

सुपरटेक ट्विन टावर रहेको स्थानदेखि करिब चार किलोमिटरको दूरीमा रहेको फेलिक्स अस्पतालकी निर्देशक डा. रश्मी गुप्ताले एएनआईसँग कुरा गर्दै आफूहरु कुनै पनि प्रकारको आपतकालीन अवस्थाका लागि पूर्ण रुपमा तयार रहेको बताउनुभयो । 

डा गुप्ताले भन्नुभयोे, “म वरपरका मानिसहरूलाई घरभित्र बस्न, घरको ढोका र झ्याल बन्द गर्न, ‘एयर प्युरिफायर अन’ गर्न, बाहिर निस्कँदा एन–९५ मास्क लगाउन सुझाव दिन्छु ।” 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।