पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग

RSS २०७९-०५-१८ १७:१७:०० बजे

काठमाण्डौ।यातायात व्यवसायीहरुले सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग गरेका छन् । मुलुकभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले आज एक विज्ञप्ति जारी गरी पटकपटक पेट्रोलियम पदार्थको मूल्यवृद्धि हुँदा व्यवसायीहरु मारमा परेको भन्दै पेट्रोलियम पदार्थमा लगाइएको कर छुट गरी मूल्य निर्धारण गर्न माग गरेका हुन् ।

महासङ्घका महासचिव डेकनाथ गौतमले भारतीय बजारमा पटकपटक पेट्रोलियम पदार्थको मूल्य घट्दा नेपालले भने नघटाइकन उल्टो बढाउँदा व्यवसायीहरु समस्यामा परेको बताउनुभयो । “बैंक ब्याज, रुट इजाजत, जाँचपास, बीमा प्रिमियमसहित सवारी साधनसँग सम्बन्धित टायर, पाटपूर्जा लुब्रिकेन्ट, च्यासिसलगायतको मूल्यवृद्धि भई थप आर्थिक व्ययभार गर्न गएका व्यवसायीलाई पेट्रोलियम पदार्थको मूल्यवृद्धिले थप मारमा परेका छन्”, उहाँले भन्नुभयो ।

महासङ्घले करिब १० खर्बको लगानी रहेको नेपालको यातायात क्षेत्रमा ११ लाख जनशक्तिले प्रत्यक्ष्य तथा अप्रत्यक्ष रुपमा रोजगार प्रदान गर्दै आइरहेको बताएको छ । महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुको साटो बढाउँदा व्यवसायी र जनता थप मारमा परेको बताउनुभयो । 

महासङ्घले विद्यार्थी, अपाङ्ग, ज्येष्ठ नागरिकलाई सार्वजनिक यातायातले सहुलियत दिएवापत सरकारले यातायात व्यवसायीलाई कर, रुट इजाजत, जाँचपासमा विगतमा ६० प्रतिशत दिँदै आएकोमा हाल उक्त सुविधा कटौती भएको भन्दै उक्त सुविधालाई निरन्तरता दिनसमेत माग गरेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।