ज्योतिषको लाइसेन्सको व्यवस्था गर्न परिषद्सँग परामर्श लिने

RSS २०७९-०५-२१ १६:०४:०० बजे

काठमाण्डौ।नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्राध्यापक श्रीकृष्ण अधिकारीले देशभरका ज्योतिषलाई लाइसेन्स प्रदान गर्नका लागि ज्योतिष परिषद्सँग परामर्श लिने बताउनुभएको छ ।नेपाल ज्योतिष परिषद्को आज यहाँ आयोजना गरिएको २४ औँ वार्षिक अधिवेशनका अवसरमा बोल्दै अध्यक्ष अधिकारीले सबै ज्योतिषलाई लाइसेन्स प्रदान गर्नका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले ज्योतिष परिषद्सँग परामर्श लिने बताउनुभयो ।

“ज्योतिष, धर्मशास्त्र र तन्त्रमन्त्र, वास्तु एक अर्का परिपूरक हुन्, यसको रक्षाका लागि सबै एकजुट भएर अगाडि बढ्नुपर्छ”, उहाँले भन्नुभयो । अध्यक्ष अधिकारीले आफूले कमाएको सम्पत्ति शुद्धिको निम्ति धर्म संस्कृतिको संरक्षणको क्षेत्रमा दान गरेमात्र पुण्य प्राप्ति हुने बताउनुभयो ।

नेपाल ज्योतिष परिषद्का अध्यक्ष माधवराज पाण्डेले ज्योतिषीहरू आचारसंहितामा बसेर ज्योतिषीय कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभयो । उहाँले आगामी पुस २४ गते परिषद्को २५औँ रजत जयन्तीलाई भव्य रुपमा सम्पन्न गर्दै वर्षभरी विभिन्न कार्यक्रम सञ्चालन गर्ने उल्लेख गर्नुभयो । दुई वर्षे कार्यकालमा परिषद्को भवन निर्माण सम्पन्न गर्ने आफ्नो पहिलो प्राथमिकता रहेको उहाँको भनाइ थियो ।

विश्व ज्योतिष महासङ्घका अध्यक्ष डा लोकराज पौडेल, दक्षिण एसियाली ज्योतिष महासङ्घका अध्यक्ष डा सहदेव विष्ट, राष्ट्रिय ज्योतिष विज्ञान समितिका अध्यक्ष तिलकराज पौडेललगायतले अधिवेशनको शुभकामना दिनुभएको थियो । विसं २०५५ सालमा स्थापना भएको परिषद्ले देशभरका सातवटै प्रदेश र ७७ वटै जिल्लामा आफ्नो शाखा विस्तार गरिसकेको ज्योतिष परिषद्का केन्द्रीय सदस्य एवं कार्यालय सचिव शिवलाल पौडेलले जानकारी दिनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।