काठमाण्डौ।सरकारको लगानीमा विसं २०६७ मा सुदूरपश्चिम विश्वविद्यालयको स्थापना भएपछि सुदूरपश्चिमका नागरिकले न्यून शुल्कमा प्राविधिक शिक्षादेखि विद्यावारिधिसम्म घरआँगनमै पढ्न पाएका छन् ।
महेन्द्रनगरस्थित सिद्धनाथ बहुमुखी क्याम्पसलाई विश्वविद्यालयमा समायोजन गरी शैक्षिक कार्यक्रम सञ्चालन सुरु गरिएको थियो । विश्वविद्यालयको स्थापनापछि उच्च शिक्षा, प्राविधिक शिक्षा र विद्यावारिधिका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको छ ।
सुदूरपश्चिममा भएको विकास र शैक्षिक क्षेत्रमा बढेको पहुँचले नै यहाँका विद्यार्थीलाई अध्ययनका लागि राजधानी र अन्यत्र जानुपर्ने बाध्यता अन्त्य हँुदै गएको सुदूरपश्चिम विश्वविद्यालयका पूर्वडीन डा टेकराज पन्तले बताउनुभयो ।
“विसं २०५७ मा पनि उच्च शिक्षाका लागि दुई–तीन दिनको बाटो हिँडेर काठमाडौँ वा भारत जानुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “त्यो बेला पनि एमएबिए गर्न पनि निकै सङ्घर्ष गरेर अध्ययन गर्न पाइन्थ्यो ।” त्यो बेला सुदूरपश्चिममेली जनताले उच्च शिक्षाका अध्ययन गर्न धेरै समस्या झेल्नुपरेको थियो विश्वविद्यालयको स्थापनापछि त्यो समस्याको अन्त्य भएको उहाँले बताउनुभयो । “२०५७ पछि मात्रै काठमाडौँ बाहिर पहिलोपकट महेन्द्रनगरमा उच्च शिक्षा अध्ययनका लागि क्याम्पस स्थापना भएको थियो ।” उहाँले विगत सम्झिँदै भन्नुभयो, “त्यो बेला अध्ययन गर्न धेरै दुःख थियो, अहिले त घरमै आमाबुवाले पाएको रोटी खाएर क्याम्पस जाने अवस्था छ, यो राम्रो पक्ष हो ।” विश्वविद्यालयले शैक्षिक क्षेत्रमा मारेको फड्को सुदूरपश्चिमका लागि गौरवको विषय भएको उहाँले बताउनुभयो । “अब विश्वविद्यालयले युग सुहाउँदो शिक्षा र प्राविधिकतर्फ बढी जोड दिनुपर्छ ।” उहाँले भन्नुभयो, “विश्वविद्यालयले आङ्गिक क्याम्पसहरू थप गरेर शिक्षाको विस्तार गनुपर्छे ।”
पछिल्लो समय विश्वविद्यालयमा राजनीतिक भागबन्डामा आधारमा हुने नियुक्तिले भने विश्वविद्यालयको संस्कारमाथि प्रश्न उठेको उहाँले बताउनुभयो । “जब विश्वविद्यालयमा राजनीतिक भागबन्डा हुन्छ त्यहीबाट विसङ्गति सुरु हुन्छ ।” उहाँले भन्नुभयो, “विश्वविद्यालयमा जुनसुकै पदमा नियुक्ति गर्दा पनि योग्यता र क्षमताका आधारमा नियुक्त गरिनुपर्छ ।”
हाल विश्वविद्यालयले सुदूरपश्चिम प्रदेशका नौवटा जिल्लामा १६ क्याम्पसबाट उच्च शिक्षादेखि प्राविधिक शिक्षा प्रदान गर्दै आएको छ । स्नातक तहमा २२ र स्नाकोत्तर तहमा १० शैक्षिक कार्यक्रम सञ्चालनमा छन् । गत शैक्षिकसत्रदेखि स्वास्थ्य विज्ञान सङ्काय तथा कानुन सङ्काय पनि सञ्चालनमा ल्याएको छ । मानविकी तथा समाजिक शास्त्र तथा व्यवस्थापन सङ्कायमा एमफिल र पिएचडी कार्यक्रममा सुरु गरिसकेको छ ।
विसं २०६९ देखि केन्द्रीय कार्यालय महेन्द्रनगरमा सञ्चालन हुँदै आएका शैक्षिक कार्यक्रम २०७५ बाट मात्रै अन्य १४ वटा क्याम्पस समायोजन गरी शैक्षिक कार्यक्रम सञ्चालनमा आएका थिए । मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षाशास्त्र सङ्काय, विज्ञान तथा प्रविधि सङ्काय, इञ्जीनियरिङ सङ्काय र कृषि विज्ञान सङ्कायका शैक्षिक कार्यक्रम सञ्चालनमा छन् ।
सुदूरपश्चिम विश्वविद्यालयका सहप्राध्यापक उमाकान्त जोशीले विश्वविद्यालय स्थापनापश्चात उच्च शिक्षाका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको बताउनुभयो । “उतिबेलाको समयमा उच्च शिक्षाका लागि काठमाडौँ वा भारतको बनारस, वृन्द्धावनलगायतका सहर जानुपर्ने बाध्यता थियो, कर्णाली–काठमाडौँ नजोडिने बेलासम्म पनि बढीजसो भारतमै जान्थे ।” उहाँले भन्नुभयो, “विश्वविद्यालयको स्थापनाले विद्यावारिधि पनि घरमै बसेर पढ्न पाउनु निकै खुसीको कुरा हो ।”
सुदूरका पहाडी जिल्लामा समेत उच्च शिक्षा अध्ययनका लागि विश्वविद्यालय स्थापनापछि सहज भएको छ । दुर्गम मानिने बाजुरा, अछाम, दार्चुलालगायतका अन्य पहाडी जिल्लामा समेत विश्वविद्यालयले सहजरुपमा शैक्षिक कार्यक्रम सञ्चालन गरेको छ ।
विश्वविद्यालयले विद्यावारिधि सञ्चालन गरेपछि यहाँका विद्यार्थीमा थप उत्साह थपिएको सुदूरपश्चिम विश्वविद्यालयबाट विद्यावारिधि गरिरहेका धर्मानन्द भट्टले बताउनुभयो । “विद्यावारिधि गर्नका लागि यहाँबाट अन्य ठाउँमा जानुपर्ने बाध्यता हटेको छ विश्वविद्यालय स्थापनापछि धेरै नै सजिलो भएको छ ।”
उहाँले लाखौँ खर्च गरेर उच्च शिक्षा अध्ययन र विद्यावारिधिका लागि बाहिर जाुनपर्ने अवस्था नरहेको बताउनुभयो । “यसै ठाउँमा बसेर अन्य काम गर्दै पढाइलाई पनि निरन्तरता दिन मिलेको छ”, उहाँले भन्नुभयो, “विश्वविद्यालयमा जनशक्ति अभाव छ यसले केही समस्या भइरहेको छ यो सुधार गर्नुपर्छ ।”
देशकै सुदूरमा अवस्थित विश्वविद्यायलयले शैक्षिक क्षेत्रमा फड्को मारेको विश्वविद्यालय सभाका सदस्य लीलाध्वज बस्नेतले बताउनुभयो । “घरआगँनमा विद्यावारिधि गर्न पाउँदा यहाँका विद्यार्थी र अभिभावक हर्षित भएका छन् ।” उहाँले भन्नुभयो, “विश्वविद्यालयले गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना हुने शिक्षा प्रदान गर्ने छ र विश्वसँग प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादनमा लाग्ने छ ।” उहाँले राष्ट्रका लागि आवश्यक जनशक्ति उत्पादनमा विश्वविद्यालय लाग्ने बताउनुभयो ।
सुदूरपश्चिम विश्वविद्यालय मानविकी समाजशास्त्रका डीन डा मुकुन्द कलौनीले विद्यावारिधिले सुदूरपश्चिमको अध्ययन र अनुसान्धानमा महत्वपूर्ण टेवा पुगेको बताउनुभयो । “यहाँका प्राध्यापकसमेत विद्यावारिधि गरिरहेका छन्, आकर्षण बढेको छ ।” उहाँले भन्नुभयो, “एमफिल र विद्यावारिधि गर्नेको सङ्ख्या बढिरहेको छ ।”
विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा तीन हजारभन्दा बढी विद्यार्थी अध्यनरत छन् । स्नातक तहमा केन्द्रीय क्याम्पस र आङ्गिक क्याम्पस गरी आठ हजारभन्दा बढी विद्यार्थी अध्यनरत छन् भने स्नातकोत्तर तहमा एक हजार ८२ विद्यार्थी अध्यनरत छन् । सुदूरपश्चिम विश्वविद्यालयका सूचना अधिकारी सन्तोष विष्टले हाल विश्वविद्यालयमा डेढ सय विद्यार्थीले विद्यावारिधि गरिरहेको बताउनुभयो । “विश्वविद्यालयले विद्यावारिधि सुरु गरेकै बेला एक सय पाँच जना भर्ना हुन आएका हुन्”, उहाँले भन्नुभयो, “विश्वविद्यालयमा विद्यावारिधि गर्ने र उच्च शिक्षा अध्ययन गर्नेको सङ्ख्या बढिरहेको छ ।” कुनै बेला उच्च शिक्षा अध्ययन गर्नका लागि सुदूरपश्चिमवासीले काठमाडौँ वा छिमेकी मुलुक भारतका सहर पस्नुपर्ने बाध्यता थियो । नेपालमा शिक्षाको उदय सुदूरपश्चिमबाटै भएको भए पनि सुदूरपश्चिम शिक्षाबाट सधैँ टाढा रहन पुग्यो । जयपृथ्वीबहादुर सिंहले बझाङमा खोलेका पाठशाला तत्कालीन शासकले बन्द गरेपछि शिक्षाको उज्यालो सुदूरपश्चिमबाट टाढा रहन पुग्यो ।