चीन र रूसका राष्ट्रपति आगामी साता भेट्दै

RSS २०७९-०५-२२ १०:३०:०० बजे

काठमाण्डौ।चीनका राष्ट्रपति सी चीनफिङ र रूसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच आगामी साता उज्वेकिस्तानमा भेट हुने भएको छ । 

उज्वेकिस्तानको सामरकन्दमा यही भदौ ३० र ३१ गते आयोजना हुने साङ्घाइ सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा सहभागी हुने सिलसिलामा दुवै नेताबीच भेटवार्ता हुन लागेको हो । 

चीनका लागि रूसका राजदूत एन्ड्रे डेनिसोभले राष्ट्रपतिद्वयबीचको भेटवार्तालाई पुष्टि गर्दै नेताद्वयबीचको पूर्ण बैठक र त्यसको कार्यसूचीमा गम्भीर ढङ्गले काम भइरहेको बताएका छन् । उनले रूसी र चिनियाँ राष्ट्रपतिबीच द्विपक्षीय एवम् अन्तर्राष्ट्रिय चासोका विषयमा विचारविमर्श हुने बताए । 

कोभिड–१९ को महामारीपछि चिनियाँ नेता सीको यो पहिलो विदेश भ्रमण हुनेछ । यद्यपि मुख्यभूमि चीनबाट उहाँ गत असार १७ गते हङकङ पुग्नुभएको थियो । हङकङ चीनलाई हस्तान्तरण गरिएको २५ औँ वार्षिकोत्सव विशेष समारोह तथा उक्त औद्योगिक महानगरका प्रमुख कार्यकारीको शपथ कार्यक्रममा सहभागी हुन उहाँ त्यहाँ जानुभएको हो । 

साङ्घाइ सहयोग सङ्गठनमा चीन, रुस, चार मध्य एसियाली देश काजाकिस्तान, किर्गिस्तान, उज्वेकिस्तान र ताजिकिस्तान तथा भारत र पाकिस्तान सदस्य छन् ।

युक्रेनमा सैन्य आक्रमण सुरु गरेपछि पश्चिमा राष्ट्रले रूसमाथि कडा प्रतिबन्ध लगाएका बेला मस्कोले एशियाली देशहरू, विशेष गरी चीनसँग सम्बन्ध सुदृढ गर्न खोजेको छ । बेइजिङले युक्रेनमा मस्कोको हस्तक्षेपको निन्दा गरेको छैन । यसअघि राष्ट्रपति पुटिन र सीबीच गत माघमा बेइजिङमा शीतकालीन ओलम्पिक खेलकुदका बेला भेटवार्ता भएको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।