मानवीय सङ्कट उत्पन्न हुन सक्ने डब्लुएचओको चेतावनी

RSS २०७९-०५-२३ १५:२५:०० बजे

काठमाण्डौ। पाकिस्तानमा विभिन्न कारणले अकल्पनीय मानवीय सङ्कट उत्पन्न हुन सक्ने चेतावनी दिइएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले प्राकृतिक प्रकोप, जलवायु परिवर्तन लगायतका कारणले मानवीय संकट उत्पन्न हुन सक्ने चेतावनी दिएको हो । 

पाकिस्तानमा पछिल्लो समय अत्यधिक बर्षापछिका बर्षाजन्य घटनाका कारण हजारौँको मृत्यु भएको छ भने लाखौँ प्रभावित भएका छन् । 

“हामीले पाकिस्तानभित्रको अवस्थालाई नजिकबाट गहिरोसँग नियालिरहेका छौँ, घातक बर्षाका कारण धेरै पक्षमा असर परेको छ, त्यसको प्रभाव अझै पनि धेरै पर्न सक्ने देखिएको छ,” डब्लुएचओका क्षेत्रीय निर्देशक डा अहमद अल–मान्धरीले भन्नुभयो । 

पाकिस्तानमा केही समय अगाडिको बर्षा र त्यसले पारेको असर हेर्दा विगतमा कहिल्यै नभएको जस्तो बढी देखिएको उहाँको भनाइ छ । 

बर्षा, बाढी, पहिरो र त्यसको असरको मात्रा हेर्दा जलवायु परिवर्तनको प्रभाव प्राकृतिक प्रकोपका रुपमा देखिएको मान्धरीको बुझाइ छ । 

उहाँका अनुसार पछिल्लो बाढी पहिरोका कारण दशौँ लाख मानिस जवरजस्त असुरक्षित पानी प्रयोग गर्न वाध्य भएका छन् । अस्वस्थ पानी पिउने र अन्य प्रयोजनका लागि प्रयोग गर्ने कार्यले उनीहरुको स्वास्थ्यमा प्रत्यक्ष नकारात्मक असर पर्ने गरेको र मानवीय क्षति बढाउने गरेको उहाँले बताउनुभयो । 

बाढी पहिरोका कारण विस्थापित भएकाहरू अहिले पनि असुरक्षित जीवन विताईरहेका छन् । उनीहरूलाई आधारभूत उपभोग्य बस्तुहरुसँगै स्वास्थ्य सेवाको समेत अभाव रहेको छ । त्यसैले पनि मानवीय सङ्कट थप उत्पन्न हुन सक्ने उहाँको अनुमान छ । 

गुणस्तरीय आधारभूत सेवा सुविधा नपाउँदा झाडा पखाला, औलो, डेङ्गु लगायतका रोग लाग्ने र त्यसको उपचार नपाएर थप हजारौँ मानिसको मृत्यु हुने खतरा रहेको डब्लुएचओका अधिकारीहरूको भनाइ छ । 

 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।