धमाधम उठ्न थाल्यो कर,सम्पर्कमा आउन थाले सरकारी निकाय

शर्मिला पाठक २०७९-०५-२९ ०९:१३:०० बजे

काठमाण्डौ। काठमाण्डौ महानगरपालिकाको पटक पटकको ताकेतापछि लामो समयदेखि ढुक्कले बसेका करदाता कर तिर्न थालेका छन् । कामपाले यही भदौ १५ गतेदेखि पटकपटक कर तिर्न करदातालाई पत्राचार गरेको थियो । 

पत्राचार र कामपाको पटकपटकको ताकेताका आधारमा अहिलेसम्म रु ८४ लाख ३४ हजार असुल भएको कामपा राजश्व विभागका प्रमुख डा शिवराज अधिकारीले जानकारी दिनुभयो । “अहिलेसम्म जति पनि असुल भएको छ त्यो सबै मनोरञ्जन कर हो । अन्य कर तिर्नका लागि केहीले विवरण लिएर आएका छन् भने केही सम्पर्कमा समेत आएका छैनन्”, उहाँले भन्नुभयो ।

कस्ले तिरे मनोरञ्जन कर  

मनोरञ्जन करबापत काठमाडौँ फन पार्कले रु १७ लाख ३६ हजार, डेन्टिन क्यासिनो होटल म्यारिटले रु २१ लाख ४२ हजार,  क्यासिनो प्यालेस अन्नपूर्ण होटलले रु ११ लाख  ८५ हजार,  प्राइट इन्टरटेनमेन्ट एन्ड सिक्रिएशन हयात होटलले रु नौ लाख ८९ हजार, माजोङ्ग इन्टरटेनमेन्ट होटल सोल्टीले रु नौ लाख ९३ हजार र बेलिज क्यासिनो मल्ल होटलले रु १३ लाख ८८ हजार रकम बुझाएको छ । 

 मनोरञ्जन कर तिर्नका लागि अन्य केहीले विवरण बुझाएर आगामी मिति तय गरेका छन् । कामपाका नगरप्रमुख बालेन्द्र साह निर्वाचित भएर आएसँगै कामपाको विगत २९ वर्षदेखि असुल हुन नसकेको सम्पत्ति कर, बहाल कर र मनोरञ्जन करका ताकेता गरिँदै आएको छ । सो अवधिमा घरजग्गा र सम्पत्ति कर नतिर्नेमा ठूलाठूला व्यवसायी र सार्वजनिक संस्थान बढी छन् । “उक्त शीर्षकको करस्वरूप कामपाले रु ५० करोड बक्यौता असुल गर्नुपर्ने छ”,  अधिकारीले भन्नुभयो, “रु ७० करोड असुल गर्नुपर्ने थियो, गत वर्ष रु २० करोड असुल गरियो । अब रु ५० करोड बाँकी छ ।”

गत वर्ष पनि कामपाले बक्यौता रकम असुलको सम्बन्धमा सार्वजनिक सूचना जारी गरी सम्बन्धित संस्थालाई पटक–पटक जानकारी गराएको थियो । उक्त सूचनाका आधारमा केही संस्थाले सम्पर्कमा आएर कर तिरे पनि अझै धेरै करदाता  सम्पर्क गर्नसम्म नआएको कामपाले जनाएको छ । बक्यौता असुल गर्नका लागि कामपाले पहिलो चरणमा पत्राचार गरेको छ । पत्रका आधारमा विवरणसहित कर बुझाउन आनाकानी गरे दोस्रो पटक माइकिङ गरेर जानकारी दिने तथा त्यसको पनि बेवास्ता गरे महानगरबाट प्रवाह हुने सेवा रोक्ने र तालाबन्दी गर्ने तयारीमा कामपा छ ।

सम्पर्कमा आउन थाले सरकारी निकाय 

विगत २९ वर्षदेखिको करस्वरूपको बक्यौता नतिर्नेमा सबैभन्दा बढी सार्वजनिक संस्थान रहे पनि पछिल्लो समय विवरणसहित सम्पर्कमा आउने क्रम बढेको छ ।  पछिल्लो समय नेपाल विद्युत् प्राधिकरण, वीर अस्पताल र अन्य केही पनि कामपाको सम्पर्कमा  आएका छन् ।  यसरी कर नतिर्नेमा साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर भवन, कर्मचारी सञ्चय कोष, खाद्य संस्थान, कृषि सामग्री कम्पनी, नेपाल शेयर मार्केटलगायत छन् । 

त्यसैगरी ह्वाइट फिल स्कुल, रञ्जना ट्रेड सेन्टर, मनमोहन मेमोरियल कलेज एन्ड शिक्षण अस्पताल, आरबी कम्प्लेक्स, त्रिवेणी कम्प्लेक्स, डेन्टल अस्पताललगायतले हालसम्म आफ्नो विवरणसमेत विभागमा नबुझाएको कामपाले जनाएको छ । समयमै कर नतिरे प्रत्येक वर्ष १० प्रतिशतका दरले जरिवानास्वरूप रकम वृद्धि हुँदै जान्छ । कामपाले अघिल्लाो दुई वर्षमा भने कोरोनाका कारण करदाता समस्या परेको भन्दै जरिवाना करमा छुट दिएको थियो ।   

लामो समयदेखि कर तिर्न आलटाल गरिरहेका करदाताबाट विभागले रु ५० करोड असुल गर्ने तयारीस्वरूप अहिले अभियानका रूपमा नै कर सङ्कलन थालेको छ । डा अधिकारी भन्नुहुन्छ, “सम्पर्क नगर्नेको घर, पसल र व्यवसायमा सिलबन्दी गर्ने तथा सरकारी बाँकी सरह राजश्व असुली गर्ने प्रक्रिया अगाडि बढाएका छौँ ।”

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।