काठमाण्डौ।जर्मनीका चान्सलर ओलाफ स्कोल्जले खाडी भ्रमणका क्रममा साउदी अरबको भ्रमण गर्ने र साउदी युवराज मोहम्मद बिन सलमानसँग भेटवार्ता गर्नुहुने भएको छ ।
आगामी साता कतार र संयुक्त अरब इमिरेट्स (युएई) को दुई दिने भ्रमणका क्रममा स्कोल्ज युवराजसँग भेट्ने पछिल्लो पश्चिमा नेता हुनुहुनेछ ।
सन् २०१८ मा वासिङ्टन पोस्टका पत्रकार जमाल खशोग्गीको हत्यामा संलग्न भएको आशङ्कामा बिन सलमानलाई केही समय अघिसम्म पश्चिममा परायाको रुपमा हेरिन्थ्यो ।
तर युक्रेनमाथिको आक्रमणलाई लिएर बढ्दो तनावबीच रूसले ग्यास आपूर्तिमा कटौती गरेपछि युरोप र उसका सहयोगीहरूले प्राकृतिक ईन्धनको नयाँ स्रोतको खोजी गरिरहेका बेला उहाँहरूबीच भेटवार्ता हुनेभएको हो ।
सरकारी प्रवक्ता स्टेफेन हेबेस्ट्रेइटका अनुसार एक व्यापारिक प्रतिनिधिमण्डलका साथ स्कोल्जले शनिबार साउदी अरेबियाको भ्रमण गर्नुहुनेछ । साउदी अरबमा रहँदा उहाँले युवराज विन सलमानसँग भेट्नुहुनेछ । उहाँले स्वास्थ्यमा प्रतिकुलता नरहेमा राजा सलमानसँग पनि भेट्नुहुनेछ ।
उहाँले स्कोल्जको खाडी भ्रमणको कारणबारे विस्तृत जानकारी नदिए पनि ऊर्जाको विषयमा छलफल नभए आफू ‘निकै आश्चर्यचकित’ हुने बताउनुभयो ।
प्रवक्ताले खशोग्गीको हत्याको विषयमा छलफल हुने विश्वास पनि व्यक्त गरेका छन् ।
गत जुलाईमा फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले पेरिसमा बिन सलमानसँग वार्ता गर्नुभएको थियो भने अमेरिकी राष्ट्रपति जो बाइडेनले साउदी अरबको भ्रमण गर्नुभएको थियो ।
आइतबार स्कोल्जले युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल–नाह्यानसँग भेटवार्ता गर्नुहुनेछ । रूसी अर्थमन्त्री रोबर्ट हेबेकले रूसको ऊर्जा आपूर्तिको प्रमुख विकल्पका रुपमा हेरिएको ग्याससँग सम्बन्धित सम्झौतामा स्कोल्जले हस्ताक्षर गर्ने बताउनुभएको छ ।
अपरान्ह चान्सलरले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीसँग भेटवार्ता गर्नुहुनेछ । रूसी ग्यासको विकल्प खोज्ने प्रयासमा हेबेकले मार्चमा कतार र संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमण गरिसकेका छन् ।
आपूर्ति कटौती गर्ने रूसको निर्णयले युरोपमा ऊर्जा सङ्कट निम्त्याएको छ, उपभोक्ता र व्यवसायहरूले जाडो नजिकिदै जाँदा बढ्दो बिलहरूको सामना गरिरहेका छन् ।