अमेरिका–बेलाइत व्यापार सम्झौता अनिश्चित

RSS २०७९-०६-०४ ०९:४१:०० बजे

काठमाण्डौ।बेलाइतकी प्रधानमन्त्री लिज ट्रसले अमेरिकासँग आफ्नो देशले निकट भविष्यमा व्यापार सम्झौता गर्ने अपेक्षा आफूले नगरेको बताउनुभएको छ । 

बेलाइतको प्रधानमन्त्रीमा नियुक्त भएपछि आफ्नो पहिलो विदेश भ्रमाणका क्रममा अमेरिका आउनुभएकी उहाँले आफ्नो भ्रमण दलमा रहेका पत्रकाररूसँग विमानमा कुरा गर्दै वर्षौँसम्म बेलाइत र अमेरिकाबीच स्वतन्त्र व्यापार सम्झौता नहुने स्पष्ट गर्नुभयो । अमेरिकासँगको व्यापार सम्झौता आफ्नो प्राथमिकता नभएको पनि उहाँले बताउनुभयो । 

संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा भाग लिन आउनुभएकी उहाँले आफ्ना पूर्ववर्ती कन्जरभेटिभ पार्टीका बोरिस जन्ससन र थेरेसा मेका अडान विपरीत अमेरिकासँगको व्यापार सम्झौतालाई प्राथमिकता दिनुभएको छैन । युरोपेली सङ्घबाट बाहिरिँदा दुवै प्रधानमन्त्रीले विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रसँग व्यापार सम्झौता गर्ने प्रतिबद्धता जनाएका थिए । 

प्रधामन्त्री ट्रसले भारत, साउदी अरब, कतारलगायत गल्फ कोअपरेसन काउन्सिलका सदस्य राष्ट्रसँग व्यापार सम्झौता पहुँच विस्तार आफ्नो प्राथमिकता भएको बताउनुभयो । दुई साताअघि प्रधानमन्त्रीको कार्यभार सम्हाल्नुभएकी उहाँले भोलि अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नुहुनेछ । उहाँहरूबीच गत सोमबार महारानी एलिजाबेथको अन्त्येष्टिका बेला लण्डनमा भेट भएको थियो । 

राष्ट्रपति बाइडेनसँग बुधबार हुने भेटले  अधिनायकवादीहरूका विरुद्ध बेलाइत र अमेरिका एकसाथ रहेका तथा सामुहिकरूपमा रूसी आक्रमणविरुद्ध उभिन बेलाइत–अमेरिका समर्थ छन् भन्ने सन्देश गर्ने प्रधानमन्त्री ट्रसले बताउनुभयो । युक्रेनमाथि रूसले  आक्रमण गरेपछि विश्वव्यापीरूपमा उत्पन्न चुनौती समान गर्न अमेरिकाजसता सहयोगीका साथै फ्रान्स, युरोपेली सङ्घ, बाल्टिक देशसँग सहकार्य गर्न चाहेको उहाँले बताउनुभयो । बेलाइत र अमेरिकाले युक्रेन युद्ध, रूस र  चीनप्रति समान धारणा एवम् अडान राखेका छन् । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।