कृष्णनगर भन्सारबाट पाँच अर्ब राजस्व असुली

RSS २०७९-०६-०५ ०८:१९:०० बजे

काठमाण्डौ।कपिलवस्तुको कृष्णनगर भन्सार कार्यालयले रु पाँच अर्ब ४३ करोड ४४ लाख ३७ हजार राजस्व असुली गरेको छ । 

जिल्लाको सबैभन्दा ठूलो भन्सार नाकाको रुपमा रहेको कृष्णनगर भन्सार कार्यालयले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको कार्यालयका प्रमुख जनार्दन पौडेलले बताउनुभयो । भन्सारले गत वर्षभन्दा रु १६ करोड ३८ लाख ८१ हजार बढी राजस्व असुली गरेको छ । निर्यात ६५ प्रतिशतले वृद्धि भएको उहाँले बताउनुभयो । निर्यात हालसम्मकै उच्च हो । 

आव २०७८/७९ मा प्लाइउड, टर्पेन्टाइन तेल, सुगन्ध तेल, तोरीको तेल, सुगन्ध कोकिला मार्क, काठका भाँडा, काठको कचौरा, टोकरी, हड्डी र सिङ, रोजिन र काठले बनेका सामग्रीको निर्यात बढेको पौडेलले जानकारी दिनुभयो । गत आवमा रु १४ करोड ८० लाख ४५ हजारको प्लाइउड निर्यात भएको थियो । यसैगरी रु पाँच करोड ६२ लाखको टर्पेन्टाइन तेल तथा रु तीन करोड ६६ लाखको सुगन्ध कोकिला तेल भारततर्फ निर्यात गरिएको प्रमुख पौडेलले बताउनुभयो ।

भन्सार नाकाबाट सबैभन्दा धेरै निर्यात हुनेमा प्लाइउड र रोजिन छ । गत आवमा रु २६ करोड २३ लाख ५४ हजारको रोजिन निर्यात भएको थियो । यो अघिल्लो आवभन्दा रु आठ करोड ५३ लाख ५९ हजार बढी हो ।  कार्यालयबाट गत आवमा रु २६ अर्ब ८१ करोड ३८ लाख ९४ हजारको सामग्री आयात भएको थियो । आव २०७७/७८ मा रु २४ अर्ब ४९ करोड नौ लाख नौ हजारको आयात भएको थियो । सबैभन्दा धेरै आयात हुनेमा चामल र फलफूल  छन् ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।