क्वालालम्पुरस्थित नेपाली दूतावासमा श्रमिक सहायता केन्द्र स्थापना गरिने

अर्थबिट २०७९-०६-११ ०९:०४:०० बजे

काठमाण्डौ।मलेसियाका लागि नवनियुक्त नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियामा नेपाली श्रमिकले भोगेका समस्या समाधानका लागि श्रमिक सहायता केन्द्र स्थापना गर्ने प्रतिबद्धता जनाउनुभएको छ । गैरआवासीय नेपाली सङ्घसहित मलेसियामा रहेका नेपाली सङ्घ–संस्थाहरुले आयोजना गरेको स्वागत कार्यक्रममा उहाँले घर फिर्ती, तलब सुविधा, आवास, कानूनी समस्या तथा स्थानीय प्रशासनसँग सम्बन्धित समस्यालाई तत्काल समाधान गर्न २४सै घण्टा श्रमिक सहायता केन्द्र सञ्चालन गरिने बताउनुभयो । 

विषम परिस्थितिमा जोखिममा परेका नागरिकहरुको उद्धार तथा समस्या समाधानका लागि कल सेन्टर, कानूनी सहायता तथा सेल्टरलाई व्यवस्थित गरिने उहाँको भनाइ थियो । राजदूत पौडेलले मलेसियामा रहेका नेपाली सङ्घसंस्थाहरुसँग समन्वय तथा सहकार्यलाई विशेष महत्व दिने तथा दूतावास पुग्न नसक्ने स्थानमा नेपाली सङ्घसंस्थाहरुलाई परिचालन गर्ने योजना रहेको बताउनुभयो । 

नेपाल सरकार तथा मलेसिया सरकारबीच सन् २०१८ अक्टोबरमा भएको श्रम समझदारीमा उल्लेखित श्रमिक अधिकारका विषयको प्रभावकारी कार्यान्वयन आफ्नो प्राथमिकतामा रहेको उहाँको भनाइ छ । मलेसियामा रहेका नेपालीलाई बैंकिङ च्यानलबाट मात्र विप्रेषण पठाउन आग्रह गर्दै हुण्डीलगायत अवैध माध्यमको प्रयोगलाई नियन्त्रण गरिने उहाँले बताउनुभयो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।