ग्रिड बिग्रिएपछि १३ करोड बङ्गलादेशी विद्युतविहीन

अर्थबिट २०७९-०६-१८ १२:४२:०० बजे

काठमाण्डौ। बङ्गलादेशमा ग्रिडमा खराबी आएपछि मङ्गलबार अपराह्न कम्तीमा १३ करोड मानिस विद्युतविहीन भएको सरकारी विद्युत् उपभोक्ता कम्पनीले जनाएको छ । 

विद्युत् विकास समितिका अनुसार स्थानीय समयअनुसार दिउँसो २ बजेपछि अचानक विद्युत् आपूर्ति बन्द हुँदा देशका ८० प्रतिशतभन्दा बढी क्षेत्र प्रभावित भएका छन् ।

समितिका प्रवक्ता शमीम अहसानले एएफपीसँग भन्नुभयो, “बङ्गलादेशको उत्तरपश्चिमका केही स्थानबाहेक देशका बाँकी भाग विद्युतविहीन भएका छन् ।” 

अहसानका अनुसार १३ करोड वा सोभन्दा बढी मानिस विद्युतविहीन छन् र के कारणले यो गल्ती भएको हो भन्ने स्पष्ट हुन सकेको छैन । 

उहाँले भन्नुभयो, “अहिले पनि अनुसन्धान भइरहेको छ ।” प्राविधिक खराबीका कारण पनि अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । 

सहायक प्रविधि मन्त्री जुनैद पलकले फेसबुकमा भन्नुभएको छ, “राजधानी ढाकामा राति ८ बजेभित्र विद्युत सेवा सुचारु हुनेछ ।

रूसले युक्रेनमाथि गरेको आक्रमणपछि विश्वव्यापी ऊर्जाको उच्च मूल्यका कारण बङ्गलादेशले हालैका महिनाहरूमा ठूलो विद्युत् सङ्कटको सामना गर्नुपरेको बताउने गरिएको छ ।

बिजुलीको माग पूरा गर्न पर्याप्त आयातित डिजेल र ग्याँसको मूल्य चुकाउन संघर्ष गरिरहेको दक्षिण एसियाली राष्ट्रमा लामो समयसम्म लोडसेडिङ हुन थालेपछि जनआक्रोश तीव्र भएको छ । 

पछिल्लो पटक सन् २०१४ को नोभेम्बरमा बङ्गलादेशको ७० प्रतिशत भूभागमा करिब १० घण्टासम्म विद्युत् आपूर्ति बन्द भएको थियो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।