पेट्रोल पम्पमा विष्फोट, नौ जनाको मृत्यु

अर्थबिट २०७९-०६-२२ १४:१७:०० बजे

काठमाण्डौ। आयरल्याण्डको उत्तरपश्चिम क्षेत्रमा पर्ने डोनेगल काउन्टीमा रहेको पेट्रोल पम्पमा भएको विस्फोटमा परी कम्तीमा नौ जनाको मृत्यु भएको प्रहरीले शनिबार जनाएको छ ।

गार्डा सिओचाना प्रहरी बलले आठ जनालाई अस्पताल भर्ना गरिएको र यस घटनाका कारण नौ जनाको मृत्यु भएको पुष्टि गरेको छ । 

“क्रेस्लो गाउँमा रहेको उक्त स्थानमा थप हताहतीका लागि खोजी र उद्धार कार्य जारी छ,” विज्ञप्तिमा भनिएको छ ।

विष्फोटको कारण खुल्न नसकेको र भग्नावशेषबाट खोजी कार्य जारी रहेको छ । शुक्रबारको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या रातारात तीनबाट बढेर सात पुगेको होे ।

आयरल्याण्डको पेट्रोल पम्प फोरकोर्ट र नजिकैको आवासीय भवनमा विस्फोट भएपछि आयरल्याण्डको आपतकालीन सेवाले रातभर उद्धार कार्य जारी राखेको थियो ।

विष्फोटपछि खिचिएको तस्वीरमा पेट्रोल पम्पको भवन ध्वस्त भएको देखिएको छ । 

बिस्फोटका कारण दुई तल्ले आवासीय भवन भत्किएको थियो भने नजिकैको यस्तै भवनको अग्रभाग भत्किएको थियो । 

घटनास्थलबाट करिब १५० मिटर (५०० फिट) को दूरीमा रहेको घरका बासिन्दा किरन गालाघेरले घटनामा शक्तिशाली वम विस्फोट 

प्रयोग गरिएको हुनसक्ने बताउनुभयो । “म त्यतिबेला आफ्नो घरमा थिएँ र विस्फोटको ठूलो आवाज सुनेको थिएँ । तुरुन्तै मैले बाहिर हेर्दा शक्तिशाली बम पड्केको जस्तो थियो,” उहाँले बीबीसीसँग भन्नुभयो ।

शनिबार बिहान स्थानीय चर्चमा आयोजित एक कार्यक्रममा फादर जोन जो डफीले आफ्नो समुदाय ’शोकको सुनामी’को चपेटामा परेको बताएका थिए।

बेलायतद्वारा सञ्चालित उत्तरी आयरल्याण्डसँगको सीमाको दुवैतिरबाट फायर सर्भिससहित आपतकालीन सेवाका धेरै गाडीहरू रातभर घटनास्थलमा नै रहेका थिए ।

गार्ड र नागरिक सुरक्षा पनि संलग्न थिए र कोस्टगार्डको हेलिकप्टरले केही घाइतेहरूलाई लेटरकेनी युनिभर्सिटी अस्पतालबाट राजधानी डबलिनमा लगेको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।