आफ्नो निर्वाचन क्षेत्रको सडकको अवस्था नसुध्रिएसम्म खाली खुट्टा बस्ने उर्जामन्त्रीको प्रतिबद्धता

अर्थबिट २०७९-०७-०४ १४:०२:०० बजे

काठमाण्डौ।भारतको मध्य प्रदेशका ऊर्जामन्त्री प्रधुम्न सिंह तोमरले आफ्नो निर्वाचन क्षेत्रको सडकको अवस्था नसुध्रिएसम्म खाली खुट्टा बस्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

ऊर्जामन्त्री तोमरले आफ्नो निर्वाचन क्षेत्रको सडकको आकस्मिक निरीक्षण गर्दै उक्त बाचा गर्नुभएको हो । उहाँले आफ्नो क्षेत्रका खराब सडकहरूको अवस्था र त्यसलाई सुधार्नुपर्नेमा राज्य सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । 

निरीक्षण भ्रमणका क्रममा सर्वसाधारणले त्यस क्षेत्रमा खराब सडकका कारण आफूले भोग्नुपरेको पीडा सुनाएपछि उनीहरूको दुःखले आफुलाई पीडाबोध भएको बताउनुभएको थियो । 

उहाँले कमजोर सडक सञ्जालको निरीक्षण यस पहिले नै पनि गरिसक्नुभएको र सुधारका लागि सम्बद्ध अधिकारीहरूलाई कडा निर्देशन दिनुभएको थियो । तर सडक निर्माण धेरै टाढा छ, खाल्डाखुल्डी समेत पुरिएका छैनन् । 

यो भ्रमणमा तोमरले जनतासँग हात जोडेर माफी माग्दै सुधारको सङ्कल्पसमेत गर्नुभएको हो । 

उहाँले भन्नुभयो,“जबसम्म ग्वालियर विधानसभा निर्वाचन क्षेत्रको सडकको अवस्था सुधार हुँदैन, तबसम्म म चप्पल र जुत्ता लगाउने छैन । म खाली खुट्टा बस्नेछु ।” 

उहाँले थप्नुभयो, “खाली खुट्टा हिँड्दा गिट्टी र खराब सडकको पीडा महसुस हुन्छ भन्ने मेरो विश्वास छ । जनताको पीडाको मैले आफैले पनि अनुभव गर्नेछु ।” 

सडक निगमका अधिकारीहरूलाई निर्देशन दिँदै उनीहरूलाई चाँडै सडकहरू ठीक गर्न भनिएको छ । लापरवाही गर्ने अधिकारी र कर्मचारीलाई कारवाही गरिने उहाँले बताउनुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।