विश्वकपको तयारी गर्ने क्रममा मारिएका आप्रवासी कामदारलाई क्षतिपूर्ति दिन कतारद्वारा अस्वीकार

अर्थबिट २०७९-०७-१७ १८:२३:०० बजे

काठमाण्डौ।कतारले विश्वकप तयारीका क्रममा मारिएका वा घाइते भएका आप्रवासी कामदारका लागि क्षतिपूर्ति कोषको मागलाई अस्वीकार गरेको छ ।

कतारका श्रममन्त्री अली बिन समिख अल मारीले एएफपीसँग कुरा गर्दै कतारले लाखौं डलर भुक्तानी नगरेको तलब दिइसकेको बताउँनुभएको छ साथै उहाँले खाडी राष्ट्रका आलोचकमाथि ‘जातिवाद’ को आरोप लगाउनु भएको छ ।

मारीले कतारसँग कामदारको मृत्यु र घाइतेको उपचारका लागि कोष रहेको बताउनुभयो । 

“फिफाको नेतृत्वमा क्षतिपूर्ति अभियानको यो आह्वान पब्लिसिटी स्टन्ट हो,” उहाँले एक विशेष अन्तर्वार्तामा भन्नुभयो । हाम्रो ढोका खुला छ । हामीले धेरै मुद्दाको निरुपण र समाधान गरेका छौं ।”

एम्नेस्टी इन्टरनेसनल र ह्युमन राइट्स वाचले फिफा र कतारलाई ४४ करोड अमेरिकी डलर बराबरको कामदारका लागि कोष बनाउन माग गरेका छन् ।

मानव अधिकारवादी समूहहरूले कतारले मृत्युको रिपोर्टिङ कम गरेको आरोप लगाएका छन् । कतार सरकारले निर्माणस्थलमा भएका दुर्घटना वा गर्मीका कारण हुने रोगका कारण हजारौँको मृत्यु भएको भन्ने समाचारप्रति कडा आपत्ति जनाएको छ ।

फिफाले कोषको बारेमा ‘निरन्तर संवाद’ भइरहेको बताएको छ, तर सरकारको पहिलो सार्वजनिक टिप्पणीमा, मारीले भन्नुभयो, “यो प्रस्ताव अव्यावहारिक थियो ।”

यस पहिले गत आइतबार मारीले हरेक मृत्यु एक प्रकारले दुःखद् भएपनि यी कोषहरू स्थापना गर्ने कुनै मापदण्ड नभएको उहाँले बताउनुभयो ।

उहाँले प्रतिप्रश्न गर्दै भन्नुभयो, “पीडित कहाँ छन्, पीडितको नाम छ, यो नम्बर कसरी प्राप्त गर्न सकिन्छ ?” केही अन्तर्राष्ट्रिय ट्रेड युनियनका नेताहरूले पनि नयाँ कोष स्थापना र व्यवस्थापन गर्न निकै जटिल हुने बताएका छन् । 

कतारले सन् २०१८ मा श्रमिक सहायता तथा बिमा कोषको स्थापना गरेको थियो जसले तलब नपाएका कामदारलाई सहयोग गरेको थियो ।

उहाँले भन्नुभयो, “क्षतिपूर्ति नपाएको व्यक्ति छ भने उनीहरू अगाडि आउनुपर्छ र हामी उनीहरूलाई सहयोग गर्नेछौँ । कतार एक दशकभन्दा अघिका मुद्दाहेर्न तयार छ ।”

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।