बेलायती राजा चार्ल्समाथि अण्डा प्रहार प्रयास

अर्थबिट २०७९-०७-२४ १५:५६:०० बजे

काठमाण्डौ।बेलायती राजा चार्ल्स तृतीय र उहाँकी पत्नी रानी कन्सोर्ट क्यामिलामाथि बुधबार उत्तरी इङ्ल्यान्डको भ्रमणका क्रममा एक व्यक्तिले अण्डाले हान्ने प्रयास गरेका छन् ।

७३ वर्षीय राजा चार्ल्स र उहाँकी ७५ वर्षीया पत्नी क्यामिलालाई योर्कमा हिँडडुल गर्ने क्रममा तीनवटा अण्डाले निशाना बनाएको बेलायती सञ्चारमाध्यमले देखाएका छन् ।

एक व्यक्तिले ‘यो देश दासहरूको रगतमा बनेको हो’ र ‘मेरो राजा होइन’ भन्दै चिच्याएको सुनिएको थियो र त्यसपछि उनलाई प्रहरी अधिकारीहरूले हिरासतमा लिएका देखाइएको छ ।

घटनास्थलमा रहेका पत्रकारका अनुसार प्रदर्शनकारीले शाही दम्पतीमाथि अण्डा प्रहार गर्नुअघि उनीविरूद्ध असन्तुष्टि व्यक्त गरेका थिए ।

भ्रमणका लागि ऐतिहासिक मिक्लेगेट बारमा भेला भएको भीडमा अन्य मानिसहरूले आक्रमणकारीप्रति आक्रोश व्यक्त गर्दै उनलाई लाज नभएको मान्छे भनेका थिए । उनीहरूले राजाप्रति सम्मान प्रकट गर्दै ‘भगवानले राजालाई बचाउनुभयो’ भनेका थिए ।

प्रहरीले संदिग्ध अपराधीलाई हिरासतमा लिएको बताइएपछि बेलायती राजा चाल्र्स र क्यामिलाले लर्ड मेयरद्वारा आधिकारिक रूपमा योर्क शहरमा स्वागत गर्न बोलाइएको एक परम्परागत समारोहमा सहभागी हुनुभएको थियो ।

बेलायती सञ्चारमाध्यमले आक्रमणकारीलाई पूर्व ग्रीन पार्टीका उम्मेदवार र हाल अस्तित्वमा नरहेको विद्रोही वातावरणीय विरोध समूहका कार्यकर्ताको रूपमा चिनाएका छन् । 

चार्ल्सकी आमा महारानी एलिजाबेथ द्वितीयको गत सेप्टेम्बर ८ मा निधन भएपछि स्थापना गरिएको शालिकको अनावरणमा सहभागी हुन राजपरिवार उक्त ऐतिहासिक शहरमा पहिलो पटक पुगेको थियो ।

चार्ल्सले मङ्गलबार नजिकैको लिड्स शहरमा रहेका कलाकारहरूलाई भेट्नुभएको थियो । उहाँले दासप्रथाबारे बेलायतको भूमिका बिषयक एक कार्यक्रममा सहभागी हुँदै यस बिषयमा खुला बहस चलाउन आफु तयार रहेको बताउनुभएको थियो । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।