युक्रेनलाई चालीस करोड डलर उपलव्ध गराउँदै अमेरिका

अर्थबिट २०७९-०७-२६ १६:५३:०० बजे

काठमाण्डौ।संयुक्त राज्य अमेरिकाले युक्रेनलाई ४० करोड अमेरिकी डलर उपलव्ध गराउने घोषणा गरेको छ । रुसले युक्रेनी सहर खेरसनबाट आफ्ना सेनालाई फर्कने आदेश दिएको एक दिनपछि उक्त अमेरिकी सहायता घोषणा भएको हो ।

ह्वाइट हाउसका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले सहयता ‘प्याकेज’मा ‘एयर डिफेन्स सिस्टम’ का लागि युक्रेनलाई ‘ग्रिनेड लञ्चर’तोप, गोलाबारूद, साना हतियारसहितका अन्य अत्याधुनिक हातहतियार उपलव्ध गराइने सञ्चारकर्मीहरूलाई बताएका छन् । अमेरिकाले पनि खेरसन सहरबाट रुसी सैनिक फर्कने सङ्केत पाएको उनले बताए ।

रुसका रक्षामन्त्री सर्गेई शोइगु र युक्रेनमा खटिएका रुसी सेनाका कमाण्डर जनरल सर्गेई सुरोभिकिनबीच मस्कोमा भएको बैठकपछि मस्कोले सेनालाई खेरसनबाट फर्कन आदेश दिएको हो । उक्त शहरलाई मात्र आफ्नो कब्जामा लिन मस्को सफल भएको थियो । 

यसअघि युरोपेली आयोगले पनि युक्रेनलाई १८ अर्ब युरो बराबरको सहायता प्याकेज प्रस्ताव गरेको थियो । प्याकेजअन्तर्गत किएभले नियमित किस्ताका रूपमा अधिक सहुलियतमा ऋण पनि पाउने छ । झण्डै दश महिनादेखि जारी युक्रेन युद्धबाट किएभका पक्षमा विशाल अन्तर्राष्ट्रि सहायता परिचालन भएको छ । 

करिब दश महिनादेखि जारी युक्रेन युद्धमा एक लाखभन्दा बढी रुसी सैनिक मारिएका तथा घाइते भएका  अमेरिकी सेनाका एक जना वरिष्ठ अधिकारीले बिहीबार बताएका थिए । द इकोनोमिक क्लब अफ न्यूयोर्कले आयोजना गरेको  एक कार्यक्रममा जनरल मार्क मिलेले युक्रेनी पनि त्यति नै सङ्ख्यामा हताहत एवम् घाइते भएका बताएका थिए । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।