इन्भेस्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई विदेशी लगानीको न्यूनतम सीमा नलाग्ने

अर्थबिट २०७९-०७-२८ ०८:१८:०० बजे

काठमाण्डौ।सरकारले इन्भेस्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्न चाहने गैरआवासीय नेपालीलाई विदेशी लगानीको न्यूनतम सीमा लागू नहुने व्यवस्था गरेको छ । देशभित्र लगानीको मात्रामा विस्तार होस् र त्यसको मात्रामा उल्लेख्य मात्रामा वृद्धि होस् भन्ने लक्ष्यका साथ त्यस्तो व्यवस्था गरेको हो ।

सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन, २०७५ को दफा ३ को उपदफाले दिएको अधिकार प्रयोग गरी विदेशी लगानीको न्यूनतम सीमा तोक्ने सम्बन्धमा आवश्यक व्यवस्था गरेको हो ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका तर्फबाट नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार विदेशी लगानीको सीमाप्रति विदेशी लगानीकर्ता रु दुई करोड तोकेको छ । यसअघि त्यस्तो सीमा रु पाँच करोड बराबर थियो । केही दिन पहिलेको मन्त्रिपरिषद्को बैठकले त्यससम्बन्धी निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को सो निर्णयको जानकारी दिँदै आज राजपत्रमा सूचना प्रकाशित गरिएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा तोयानारायण ज्ञवालीले जानकारी दिनुभयो । नेपाल सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीमा स्थापना भएको इन्भेस्टमेन्ट कम्पनीमार्फत नेपालमा लगानी गर्न गैरआवासीय नेपालीलाई लगानीको न्यूनतम सीमा लागू नहुने र यस्तो कम्पनीले इन्भेस्टमेन्ट कम्पनीका सबै सर्तहरु पूरा गर्नुपर्ने सूचनामा उल्लेख छ ।

साना तथा मझौला लगानीकर्ता आकर्षित होऊन् भन्ने लक्ष्यका साथ यस्तो व्यवस्था गरिएको सरकारको भनाइ छ । सानोभन्दा सानो पूँजीबाट पनि आर्थिक गतिविधिको विस्तार तथा रोजगारीको अभिवृद्धिका लागि नयाँ व्यवस्था गरिएको सरकारले स्पष्ट पारेको छ । 

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।