विश्व बैंकद्वारा वनमा आश्रित समुदायको उत्थानका लागि ४५ लाख अमेरिकी डलर अनुदान सहयोग

अर्थबिट २०७९-०८-०१ १०:१४:०० बजे

काठमाण्डौ।विश्व बैंक र ग्रामीण पुनःनिर्माण नेपाल (आरआरएन) बीच नेपालको वन क्षेत्रका आदिवासी/जनजाति र स्थानीय समुदाय (आइपिएलसिएस)को क्षमता अभिवृद्धि गर्न ४५ लाख अमेरिकी डलर अनुदान सम्झौतामा हस्ताक्षर भएको छ ।

नेपालमा आदिवासी/जनजाति र स्थानीय समुदायका लागि पाँचवर्षे अनुदान संयन्त्र परियोजनाले वनको दिगो व्यवस्थापन प्रक्रियाका लागि स्थानीय, राष्ट्रिय र विश्वव्यापीस्तरमा नेपालको रेड प्लस प्रक्रियामा सहभागी हुन समुदायको क्षमता अभिवृद्धि गर्न मद्दत गर्नेछ ।

यसले मधेस र लुम्बिनी प्रदेशका वनमा आश्रित समुदायको आम्दानी बढाउन र जीविकोपार्जनका अवसर सिर्जना गर्न मद्दत गर्ने विश्व बैंकले जनाएको छ । ग्रामीण पुनःनिर्माण नेपाल आयोजनाको राष्ट्रिय कार्यान्वयन निकाय हो । सम्झौतामा  बुधबार  माल्दिभ्स, नेपाल र श्रीलङ्काका लागि विश्व बैंकका सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभा र ग्रामीण पुनःनिर्माण नेपालका अध्यक्ष डा अर्जुन कार्कीले हस्ताक्षर गर्नुभएको हो ।

हस्ताक्षरपछि सञ्चालन प्रबन्धक लाडा स्ट्रेलकोभाले यस परियोजनाले नेपालका आदिवासी जनजाति र स्थानीय समुदायलाई कोष संयन्त्रका माध्यमबाट सहयोग गर्ने र प्राकृतिक स्रोतको दिगो व्यवस्थापनमा योगदान दिने बताउनुभयो । 

यसैगरी अध्यक्ष डा कार्कीले परियोजनाले वनमा निर्भर आदिवासी जनजाति र स्थानीय समुदायलाई साना वन र गैर–वनमा आधारित व्यवसाय र रोजगारीका अवसरमार्फत जीविकोपार्जनमा आवश्यक सहयोग प्रदान गर्ने उल्लेख गर्नुभयो ।

लोकप्रिय

© 2021 Copyright Major Media Pvt.Ltd. | All rights reserved. Terms of Service Privacy Policy स्रोतहरू खुलाइएका बाहेक प्रकाशित सम्पूर्ण सामग्रीहरू मेजर मिडिया प्रा.लि.का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।